Tune to BFM 91.2|Biratnagar

प्रदेशले ल्याउने बजेट बारे विराटनगरमा छलफल

विराटनगर २० जेठ । नेपाली कांग्रेसले सरकारद्वारा कोरोना कहरबीच संघीय सरकारले ल्याएको र अब प्रदेशले ल्याउने बजेटको सार बारे विराटनगरमा छलफल चलाएको छ ।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले बनाएको सुझाव संकलन समितिको आयोजनामा आज प्रदेश राजधानी विराटनगरमा विषय विज्ञसँग छलफल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी विज्ञले अब कोरोनासँगैसँगै अर्थतन्त्रलाई चलायमान बनाउनुको विकल्प नभएको बताएका छन् ।

उनीहरूले बजेट स्वास्थ्य केन्द्रित भए पनि आन्तरिक उत्पादन, खपत र व्यापार केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । विज्ञले कृषि उत्पादकत्व वृद्धि र आत्मनिर्भर हुने दिशामा केन्द्रित हुने यो ठूलो अवसरका रूपमा सदुपयोग गर्न सकिने बताएकाछन ।कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय सरकारले ल्याएको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि आर्थिक वृद्धिको आंकलन मनोगत भएको बताउनुभयो ।

कोइरालाले कोरोना कहरका कारण देशको आर्थिक क्षेत्र नै थिलथिलो बन्न थालेको बताउनुभयो । अर्का केन्द्रीय सदस्य अमृत अर्यालले लकडाउनको मोडल परिवर्तन गरी अब आर्थिक वृद्धि ऋणात्मक हुन नदिने गरी बजेट कार्यान्वयन हुनपर्ने भन्दै प्रदेशको बजेट विगत वर्षभन्दा घटेर आउने बताउनुभयो । उहाले कृषि, उद्योग, कलकारखाना र सेवाका क्षेत्रहरूलाई बचाउने गरी बजेट ल्याउन सुझाव दिनुभयो ।

अर्थशास्त्री भेषप्रसाद धममलाले अब कोरोना सँगसँगै बाँच्न र अर्थतन्त्रलाई जीवित राख्ने उपाय नपनाई नहुने बताउँदै भन्नुभयो, “राहत, किसानमुखी र स्वास्थ्य क्षेत्रको विकासमा प्रदेशको बजेट केन्द्रित हुनुपर्छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले ल्याउने बजेटका कार्यक्रमहरू परम्परागत शैलीकै हुने गरेकाले अहिलेको बदिलिएको परिस्थितिमा त्यसलाई व्यावहारिक बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग र व्यापार क्षेत्र थाला पर्ने अवस्था आए पनि संघीय बजेटले खासै धेरै विषय नसमेटेको भन्दै प्रदेश सरकारले यसबारे ध्यान दिनुपर्ने बताउनु भयो । उहाले “उद्योग र व्यापार त उठ्नै नसक्ने अवस्थामा पुग्न लागेको बताउनुभयो ।”

कार्यक्रममा सांसद शेखरचन्द्र थापा सांसद सूयर्माराज राई, लोकप्रसाद संग्रौला, शिवनारायणसिंह गन्गाई, ओमप्रकाश सरागवीलगायतले बजेटबारे सुझाव दिनुभएको थियो । चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ४२ अर्ब २० करोडको बजेट ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button