Tune to BFM 91.2|Biratnagar

प्रदेशसभा बैठक माघ २५ गते बोलाइयो

विराटनगर, १८ माघ । प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गतेका लागि बोलाइएको छ । गत माघ ७ गते सुरु भएको बैठक त्यही दिन अनिश्चित कालका लागि स्थागित गरिएको थियो । अर्को बैठक माघ २५ गते दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले सूचना जारी गरेरै जानकारी दिएको छ ।

सूचना बैठकमा सहभागी हुनलाई प्रदेशसभा सदस्यका लागि जारी गरिएका हो । प्रदेशसभा सचिव गोपाल पराजुलीले सभामुख प्रदीपकुमार भण्डारीले बैठक आह्वान गरेको जानकारी दिनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै उहाँ पक्षीय प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै उहाँलाई संसदीय दलको नेताबाट पनि हटाइको छ । मुख्यमन्त्री राईले पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १६ सांसदलाई निलम्बन गरिसक्नु भएको छ । त्यो अवस्थामा यसअघि माघ ७ मा बोलाइएको बैठक प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’को पत्र पढेर सुनाएपछि सभामुख भण्डारीले स्थगित गर्नु भएको थियो । अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरुले तत्काल बैठक सुरु गर्न माग गरिरहेका थिए । अबको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

यद्यपी मुख्यमन्त्री र उनको समूहले भने प्रस्ताव प्रक्रियामा लैजान नहुने दबाब सभामुखलाई दिइरहेको स्रोतले बतायो । नेकपा संसदीय दलका प्रमुख सचेत एवं प्रधानमन्त्री ओली पक्षीय नेता बुद्धिकुमार राजभण्डारीले कारबाही गरिसकेका सांसदलाई प्रदेशसभामा प्रवेश नदिने र सभामुखले प्रवेश गराएमा बैठक अवरुद्ध गर्ने आफूहरुको योजना रहेको सुनाउनु भयो । राजभण्डारीलाई नेकपाको दाहाल–नेपाल समूहले प्रमुख सचेतबाट भने हटाइसकेको छ । यो समूहले ओली पक्षीय मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ । दाहाल–नेपाल समूहले राईसहित आठ सांसदलाई निलम्बन गरिसकेको छ ।

प्रदेशसभामा सरकारले अहिलेसम्म कुनै पनि विधेयक दर्ता गरेको छैन । त्यही भएकाले आगामी बैठकमा अविश्वास प्रस्तावको छलफलबाहेक अरु कुनै विषय अगाडि नबढ्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button