Tune to BFM 91.2|Biratnagar

प्रदेश नं. १ मा दादुरा रुवेलाको खोप अभियानको आज मोरंगको कटहरीमा शुभारम्भ

विराटनगर, ६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा रुवेला खोप अभियान प्रदेश नं. १ मा शुरु भएको छ । अभियानको आज मोरंगको कटहरीमा शुभारम्भ गरिएको छ । कटहरी वडा नं. २ मा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले अभियानको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले दादुरा रुवेला अभियानलाई जनप्रतिनिधिले आफ्नो अभियानका रुपमा लैजानु पर्ने बताउनुभएको छ । हरेक वडालाई खोपयुक्त घोषणा गर्ने अभियान रहेकाले खोप लगाउनबाट कुनैपनि बालबालिका छुट्न नहुनेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख भरत भण्डारीले दक्षिण एशियाबाट दादुरा रुवेला अन्त्य गर्ने महाअभियान शुरु भएको बताउनुभयो ।

अभियानमा कुनैपनि बालबालिका छुट्न नहुने बताउनुभयो । नियमित खोपमा छुटेका बालबालिकालाई पनि खोजी गरेर खोप लगाउनुपर्नेमा भण्डारीले जोड दिनुभयो । आगामी असार भित्रमा पूर्ण खोप भएको देश घोषणा गर्ने कार्यमा सरकार जुटेको उहाँले बताउनुभयो । प्रदेश नं. १ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले दादुरा रुवेला अभियान अन्र्तगत प्रदेश नं. १ मा ४ लाख २७ हजार ७ सय १२ बालबालिकालाई दादुरा रुवेलाको खोप लगाईने बताउनुभयो । उहाँले अभियानमा ८ हजार बढी स्वास्थ्यकर्मी र १६ हजार बढी स्वयंसेविका खटिएको बताउनुभयो ।

दादुरा रुवेला अभियानमा मोरङका ९२ हजार ८ सय ५ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । फागुन ६ देखि १४ गते सम्म मोरङका ८ वटा स्थानीय तह र फागुन १६ देखि २४ सम्म विराटनगर महानगरिपालिका सहितका ९ वटा स्थानीय तहका बालबालिकालाई दादुरा रुवेलाको खोप लगाईदैछ । दादुरा रुवेलासँगै १ लाख ९ हजार २ सय २९ बालबालिकालाई पनि पोलियो थोपा खुवाउने कार्यक्रम रहेको प्रमुख वस्नेतले बताउनुभयो ।

पोलियो थोपा प्रदेशनं. १ का झापा, मोरंग र सुनसरीका ३ लाख ५ हजार ३ सय ४८ बालबालिकालाई खुवाईदैछ । सन् २०२० भित्रमा दादुरा रुवेला अन्त्य भएको घोषणा गर्ने सरकारको लक्ष्य राखिएपनि पुरा नभएपछि सन् २०२३ भित्रमा नियन्त्रण गर्ने सरकारी तयारी रहेको बताईएको छ । नेपालमा दादुरा रुवेला निरुपण भएपनि नियन्त्रण भईनसकेको उहाँले बताउनुभयो । सन् २०१९ को तथ्याङ्क अनुसार प्रदेश नं. १ मा ३२ जनामा दादुरा भएको पाईएको थियो । मोरङमा मात्रै १३ जनामा दादुरा भएको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button