Tune to BFM 91.2|Biratnagar

प्रदेश प्रहरी विधेयकमाथिको छलफल सकियो

विराटनगर, २४ असार । प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । प्रदेश १ मा ११ हजार प्रहरी दरबन्दी कायम गर्ने व्यवस्थासहित प्रदेश सभामा पेश गरिएको विधेयकका विषयमा सांसदहरूले धारणा राखेका थिए ।

छलफलमा सांसदहरूले संघले नै प्रदेश प्रहरी नियुक्त गर्ने र प्रदेशमा दरबन्दी कायम गरिए पनि पहिलो चरणमा संघिय प्रहरी नै समायोजन भएर आउने प्रावधानले प्रदेश प्रहरी नाम मात्रैको हुनेमा आशंका व्यक्त गरे ।

छलफलमा सहभागी सांसदहरूले प्रदेश प्रहरीमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् । सांसद प्रकाशप्रताप हाङ्माङ्ले प्रदेशमा ११ हजार मात्रै प्रहरी कायम नगरी कम्तीमा एक जिल्ला १ हजार प्रहरी हुनेगरी १४ हजार प्रहरी दरबन्दी कायम गर्न माग गर्नुभयो ।

हाङ्माङ्ले महिलाको सहभागिता बढाउन प्रहरी भर्ना गर्दा महिलालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । छलफलमा सहभागी हुँदै सांसद कुलप्रसाद साम्बाले महिलालाई प्रहरीमा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । साम्बाले २० प्रतिशत महिला राख्ने प्रावधान रहेकोमा पुरुष र महिला बराबर हुने व्यवस्था गर्न माग गर्नुभयो ।

साम्वाले प्रहरीको तलब कम्तीमा मासिक ५० हजार पुर्याउन आग्रह गर्नुभयो । विधेयकको शैद्धान्तिक छलफलमा सांसदहरू खिनुलङ्वा लिम्बु, जयराम यादव, लक्षुमन तिवारी, लिला सुब्बालगायतले भाग लिनुभएको थियो ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिनु भएको थियो । कार्कीले महिला प्रहरीको संख्या बढाउने विषय राम्रो भए पनि लोकसेवा आयोगले निर्धारण गरेको कोटा अनुसार नै प्रदेशमा पनि प्रहरी भर्ना गर्नुपर्ने भएकाले संविधान र संघिय कानुनविपरित कोटा बढाउन नसकिने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button