Tune to BFM 91.2|Biratnagar

प्रदेश र स्थानीय सरकारलाई उपस्थित हुन उच्च अदालतको आदेश

विराटनगर, ४ भदौं । उच्च अदालत विराटनगरले कोरोना संक्रमण नियन्त्रणको कार्य प्रगतिसहित छलफलका लागि उपस्थीत हुन प्रदेश र स्थानीय सरकारका नाममा आदेश जारी गरेको छ ।

कोरोना संक्रमित बुबाको उपचार अभावमा मृत्यु भएको भन्दै सीताराम दाहालकी छोरीले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आज प्रदेश १ सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका विपक्षीलाई छलफलका लागि बोलाएको हो । प्राकृतिक न्यायको सिद्धान्त अनुसार दुबै पक्षको कुरा सुन्नका लागि मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले विपक्षीलाई भदौ ८ गते उपस्थित हुन आदेश भएको उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिनु भयो ।

कोरोना संक्रमणपछि अस्पतालमा न्युनतम स्वास्थ्य उपचार नपाएका कारण आफ्नो बुबाले अकालमा ज्यान गुमाउनु परेको र संक्रमितहरुले अहिलेपनि उपचार नपाएको भन्दै मृतक सीताराम दहालकी छोरी निलिमा दाहालले हिजो रिट दायर गर्नु भएको थियो ।

कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न तत्काल प्रभावकारी काम कार्यब्यनको माग गर्दै परेको रिट निवेदनमाथि भएको सुनुवाईमा कानुन व्यवसायिहरु दुर्गाप्रसाद पोखरेल, प्रमोदराज आचार्य, हरिकुमार मण्डल ,मधुसूदन चौधरी , किशोरकुमार माझी जनकबहादुर पुरी र राजकुमार राजबशीले बहस गर्नु भएको थियो ।

अदालतबाट जारी आदेशमा निवेदकको निवेदन बमोजिम के भएको हो र माग बमोजिम आादेश जारी गर्नु पर्ने हो होइन भन्ने विषयका कारण खुलाई प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधीवक्ताको कार्यालय मार्फत र अन्यको हकमा आफ्नो कानूनी प्रतिनिधि मार्फत जवाफ पेश गर्न भनिएको छ ।

सरकारी हेलचेक्राइका कारण कोरोना भाइरसको संक्रमणबाट आफ्ना बुवाले अकालमा ज्यान गुमाउनु परेको भन्दै किरियामा बसेकी छोरीले उच्च अदालत विराटनगरमा रिट दायर गर्नु भएको थियो । उपचारका क्रममा साउन २८ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएका विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय सीताराम दाहालकी छोरी २२ वर्षीया निलिमा दाहालले रिट दायर गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button