Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का विभिन्न संरक्षण गृहमा रहेका आश्रितहरुलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गर्नुभयो । सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको शुरुवात गरिएको हो । खोप अभियान शुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाईने बताउनुभयो ।

मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सवैलाई खोप लगाईने उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने छ ।’ लक्षित समूहले खोप लगाईरहेपनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान शुरुवात गरिएको मन्त्री राईले बताउनुभयो । सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाईने बताउनुभयो । उहाँले आज ३ सय बढीलाई खोप लगाईने बताउनुभयो ।

मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, ओरेक, माईती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरुलाई आज खोप लगाई सकिने उहाँले बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button