Tune to BFM 91.2|Biratnagar

प्रदेश १ को बर्खे अधिवेशन जेठ २४ मा आह्वान

विराटनगर, २० जेठ । प्रदेश १ को बर्खे अधिवेशन यही जेठ २४ गते दिउँसो आह्वान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रदेशसभा भवनमा जेठ २४ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्ने निर्णय बैठकमा भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताउनु भयो । उहाँका अनुसार निर्णय कार्यान्वयनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने गरी बैठक सम्पन्न भएको छ ।

अधिवेशनमा प्रि–बजेटमाथि छलफल हुने बताइएको छ । कोरोना महामारी र राजनीतिक विवादका कारण कानुन अनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको छ । जसका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले हिजै अध्यादेश जारी गर्नु भएको छ । हिजो दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गर्ने निर्णय लिएको थियो ।

सरकारको सिफारिसमा हिजो बेलुका प्रदेश प्रमुख ‘प्यासी’ले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संसोधन) अध्यादेश २०७८ जारी गरिसक्नु भएको छ । मन्त्री कार्कीले संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुखसमक्ष हिजो दिउँसो पेस भएको र बेलुका जारी भएको जानकारी दिनु भयो । ऐन संशोधन गरी १५ दिनअगावै पूर्वबजेट छलफल गराउनुपर्नेमा अब अध्यादेशमार्फत त्यो अवधि घटाएर पाँच दिन बनाइएको उहाँको भनाइ छ । बैठकलाई लामो समयसम्म सञ्चालन गर्न नसकिने भएकोले पाँच दिनअगावै छलफल सक्ने निर्णयमा प्रदेश सरकार पुगेको हो ।

अस्ती मङ्गलबार भएको विपक्षी दलसँग भएको छफलमा पनि मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन डाक्ने र बजेट पेस हुने तर, छोटो समयमा सक्नुपर्ने बाध्यता रहेको बताउनु भएको थियो । प्रदेश प्रमुख ‘प्यासी’बाट अध्यादेश जारी भएपछि आज पुनः बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानको निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button