Tune to BFM 91.2|Biratnagar

प्रदेश १ को भारतीय सीमामा ५ हजार सुरक्षाकर्मी

विराटनगर, ६ वैशाख । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा आजदेखि थप कडाइ गरिएको छ । हिजो उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा तीन हजार सात सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन भएका छन् ।

दशगजामा चोकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ नं. बाहिनीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले आजदेखि प्रदेशको मुख्य चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा थप पाँचसय जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।

लकडाउनपछि तीन हजार दुई सय सशस्त्र प्रहरी परिचालन भएकोमा आजदेखि तीन हजार सात सय जना परिचालन भएका छन् । नेपाल प्रहरीले चार जिल्लाको सीमा क्षेत्रलाई केन्द्रित गरी एक हजार एक सय एक जना प्रहरी परिचालन गरेको छ ।

कुल दुई सय २९ स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा तैनाथी बढाएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

लकडाउनपछि दशगजा क्षेत्रको एक किलोमिटर दुरीमा सुरक्षापोस्ट आजदेखि पाँचसय मिटरको दुरीमा खडा गरिएको छ । अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी प्रत्येक पाँच सय मिटरमा सुरक्षा पोस्ट राखिएको छ । भारतको विहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल तीन सय ८ वटा नयाँ पोस्ट थपिएको छ ।

ती पोस्टमा सात जनाको दरले सशस्त्र प्रहरी रहनेछन् । झापाको सीमा क्षेत्रमा सबैभन्दा बढी एक सय १४, सुनसरीमा ६९, मोरङमा ७१ र इलाममा १४ वटा नयाँ पोस्ट थपिएको छ । भारतसँग झापा, मोरङ र सुनसरीको दुई सय ७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button