Tune to BFM 91.2|Biratnagar

प्रदेश १ को भोलि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर, १ चैत । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको बैठक अचानक स्थगित गरिएको हो । गत फागुन ९ गते संसदमा टेवल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक दिउँसो १२ः३० बजेका लागि बोलाइएको थियो । यसअघि पनि सभामुख सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गर्नु भएको थियो ।

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई बदर गरेपछि राईविरुद्ध नेकपाको तत्कालिन दाहाल–नेपाल समूहले प्रदेशमा दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफल कसरी अघि बढाउने भन्ने अन्योल छ । सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्र अस्तीत्वमा रहेको सूचना यस अघि नै पठाएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले विषेश कारणले बैठक स्थगित भएको जानकारी दिनु भयो । उहाँका अनुसार अविश्वासको प्रस्तावमाथिको छलफल के हुन्छ भन्ने निर्णयमा पुग्न बाँकी छ ।

पराजुलीले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ । भोलि बैठक सञ्चालन गर्नका लागि आज प्रदेशसभा सदस्यहरुलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको दिन गत पुस १२ गते सरकारले सातौँ हिउँदे अधिवेशनको बैठक माघ ७ गतेका लागि आह्वान गरेको थियो ।

पहिलो दिन प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर स्थगित भएको बैठक १८ दिनपछि माघ २५ गते बसेको थियो । तर सत्ता पक्षको अवरोधपछि फागुन ९ सम्मका लागि स्थगित भयो । ९ गतेको बैठकमा सभामुखले अविश्वासको प्रस्ताव टेवल गर्दा सत्तापक्षले बहिस्कार गरेको थियो । सर्वोच्चको आदेशपछि मुख्यमन्त्री राई झन शक्तिशाली बन्नु भएको छ । अदालतले माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै अस्तित्वमा रहेको परमादेश जारी गरेपछि राई शक्तिशाली बनेकाथिए ।

प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा एमालेको ५१, कांग्रेसको २१, माओवादी केन्द्रको १६ र जनता समाजवादी पार्टीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक जना सदस्य छन् । प्रदेशमा एमालेसँग सुविधाजनक बहुमत छ । एमाले बाहेकका अन्य दल एक ठाउँमा रहँदा पनि ४२ मात्रै पुग्छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button