Tune to BFM 91.2|Biratnagar

प्रदेश–१ प्रदेशसभामा सत्तापक्षकै सांसद्को अवरोध

विराटनगर, २५ माघ । सत्तापक्षका सांसद्ले अवरोध गरेपछि प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगीत भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ४ बजेतिर सुरु भए पनि सत्ताधारी सांसदहरुले अवरोध गरेपछि स्थगित भएको हो मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूचीसहित आज बैठक सुरु हुनसाथ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगायतका सांसद् उठेर विरोध गरेका थिए ।

सभामुख प्रदीपकुमार भण्डारीले पटक–पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि अर्काे बैठक फागुन ९ गते बस्ने घोषणा गर्दै बैठक स्थगन गर्नुभयो ।यसअघि, भण्डारीले ‘नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नम्बर–१ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव ऐन. नियमावलीको नियम १२९ (४) बमोजिम पेस हुने’ कार्यसूची तय गर्नुभएको थियो । तर, अविश्वास प्रस्ताव टेबुल भएन ।

मुख्यमन्त्री राईविरुद्ध पेस गरिएको अविश्वासको प्रस्ताव टेबुल हुनैपर्ने आफूहरुले माग गरेको निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले जानकारी दिनुभयो । प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव टेबुल गर्न र सत्तापक्षले भने संसदीय दलबाट निलम्बित १६ जना सांसद्लाई प्रवेश निषेध गर्नुपर्ने माग गरेका थिए । तर, दुवै मागका विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन सकेन ।

कार्यव्यवस्थाको बैठक दुई घण्टासम्म चलेको थियो ।यता, मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्बन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्षका नेकपाका प्रमुख सचेतक राजभण्डारीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button