Tune to BFM 91.2|Biratnagar

प्रदेश १ प्रहरी कार्यालयका थप चार प्रहरीलाई कोरोना संक्रमण

विराटनगर, ८ साउन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत थप चार जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।

२२ जना प्रहरीको हिजो स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो । परीक्षणका लागि पठाइएका मध्ये १२ जना प्रदेश प्रहरी कार्यालय र अन्य १० जना बाहिरका प्रहरी कार्यालयमा कार्यरत थिए ।

कोरोना पोजेटिभ देखिएका चारै जना प्रहरी पुरुष हुन् । उनीहरु सबै जना रानीस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले बताउनु भयो । संक्रमितहरुको दर्जा भने खुलाइएको छैन ।

विराटनगरनै घर भई प्रदेश प्रहरी कार्यालयमा कार्यरत २७ वर्षीय प्रहरीका एक सिनियर अधिकृतमा गत मंगलबारराति कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि शंकास्पद मानिएका र संक्रमित प्रहरी अधिकृतको सम्पर्कमा रहेका अरु २२ प्रहरीको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो ।

उनीहरु मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको एसपी पोखरेलले बताउनु भयो । उहाँकाअनुसार परीक्षण रिपोर्ट आज प्राप्त भएको हो । एसपी पोखरेलले चारै जना संक्रमित प्रहरीलाई उपचारका लागि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी भइरहेको जनाउनु भयो ।

धमाधम प्रहरी कर्मचारीलाई संक्रमण देखिएसँगै संक्रमित प्रहरीको सम्पर्कमा रहेका र कोभिड–१९ को लक्षणदेखिएका मध्ये थप एक सय ५० जना प्रहरीको स्वाब संकलन गर्ने काम अहिले भइरहेको एसपी पोखरेलले बताउनु भयो । प्रहरीमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि प्रदेश प्रहरी कार्यालय हिजैबाट सिल गरिएको छ ।

आवतजावत र भेटघाट गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै कार्यालय सिल गरिएको हो । ‘कार्यालयमा एकअर्काबीच भेटघाट तथा बाहिरबाट आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ,’ कार्यालयका प्रवक्ता एसपी पोखरेलले भन्नु भयो, ‘कार्यालयमा रहेकाहरु भित्रै र बाहिर रहेकाहरु बाहिरै बसेर काम कारबाही गरिरहेका छौं ।

’ उहाँले एकअर्कामा भेटघाट नगरिकन प्रविधिका माध्यमबाट कार्यालयको काम कारबाहीलाई भने जारी राखिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button