Tune to BFM 91.2|Biratnagar

प्रदेश १ बाट अन्यत्रका लागि पठाउन थालियो अक्सिजन

विराटनगर, २ जेठ । अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला प्रदेश १ बाट मुलुकका अन्य स्थानमा अक्सिजन पठाउन थालिएको छ । मोरङ र सुनसरी प्रशासनको समन्वयमा आवश्यकता र प्राथमिकताका आधारमा अक्सिजन पठाउन थालिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेशमा अहिले अक्सिजन अभाव नरहेको बताउनु भयो । प्रदेशमा आवश्यकताभन्दा बढी नै उत्पादन भइरहेकाले चरम अभाव रहेका अन्य स्थानमा पठाउन सहज भएको उहाँको भनाइ छ । अक्सिजन आवश्यक पर्ने गम्भीर प्रकृतिका संक्रमितको अकालमा ज्यान गइरहेको अवस्थालाई रोक्ने प्रयास स्वरुप धमाधम अक्सिजन पठाउने काम भइरहेको निरौलाले बताउनु भयो । उहाँका अनुसार यसअघि सामान्य अवस्थामा सिरहा, सप्तरी, धनुषा लगायतसम्म यहाँबाट अक्सिजन जाने गरेको थियो ।

तर अहिले कोरोनाका कारण सबैतिर हाहाकार हुँदा भैरहवा, डडेलधुरा, काठमाडौं, मकवानपुर, दाङलगायतका स्थानलाई पनि प्रदेशमा रहेका उद्योगहरुले भरथेग गनुपर्ने अवस्था आएको प्रजिअ निरौलाको भनाइ छ । माग भएका स्थानबाट खाली सिलिन्डर ल्याइएपछि मोरङ र सुनसरीमा रहेका उद्योगले भरेर पठाउने गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताउनु भयो । नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर विराटनगर विमानस्थल हुँदै हवाई मार्गबाट अक्सिजन पठाउने गरिएको छ ।

सेनाको जहाजबाट हिजो मात्रै दुई पटक अक्सिजन भैरहवा लगिएको छ भने ढुवानीका अन्य साधनको प्रयोग गरेर स्थलमार्ग हुँदै पाँच सय ९२ सिलिन्डर बाहिर पठाइयो । प्रदेश १ मा भने अहिले दैनिक एक हजार पाँच सय सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनु भयो । अक्सिजनमा प्रदेश आत्मनिर्भर रहेको उहाँको भनाइ छ । मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले धमाधम अक्सिजन उत्पादन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button