प्रदेश १ बाट अपाङ्गता उन्मूलनको प्रयास

0
79

विराटनगर, १७ मंसिर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गताको महशुस गर्न ह्वीलचियरमा बसेर नगर परिक्रमा गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउनु भएको छ । विराटनगरमा आज राष्ट्रिय अपांग महासंघले दिवसका अवसरमा निकालेको प्रभातफेरीमा मन्त्री घिमिरे परिक्रमा अवधिभर ह्वीलचियरमा बसेर सभास्थल पुगेका थिए । उहाँलाई सामाजिक कार्यकर्ता र मन्त्रीपत्नी विमला घिमिरेले ह्वील चियरमा र्डोयाउनु भएको थियो । यसअघि मन्त्री घिमिरेको आँखामा पट्टी बाँधेर ह्वील चियरमा घुमाई आँखा नदेख्नेको पनि अनुभूति गराइने कार्यक्रम तय गरिएको थियो । केही सामाजिक कार्यकर्ता र कर्मचारीले भने आँखामा पट्टी बाँधेर सेतो लौरो टेक्दै परिक्रमा गरेका थिए । मूल आयोजक समारोह समितिका संयोजक समेत रहनु भएका मन्त्री घिमिरे तोकेको समय भन्दा ७० मिनेट ढिलो कार्यक्रमस्थल पुग्नु भएको थियो । त्यस बेलासम्म अपाङ्गता भएका व्यक्तिहरू मन्त्रालय अगाडिको सडकमा मन्त्रीलाई कुरेर बसेका थिए । उहाँले प्रदेश १ बाट अपाङ्गता उन्मूलनको प्रयास थालिएको जानकारी दिनुभयो । प्रदेशका २७ वटै स्थानीय तहबाट एकैसाथ कार्यक्रम सुचारुको तयारी भएको बताउँदै उहाँले चार वर्षभित्र सबै तहमा पुर्याइने दाबी गर्नुभयो । गैरसरकारी संस्था र स्थानीय तहहरूको सहयोगमा अपाङ्गता उन्मूलन अभियान संचालन गरिने जानकारी दिंदै मन्त्री घिमिरेले अपाङ्गताको जन्मदर नै नियन्त्रण गरिने बताउनुभयो । दिवसका अवसरमा सबैखाले अपाङ्गता भएका व्यक्तिहरू प्रभात फेरीमा सहभागी थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here