Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा अब हर्न बजाउन नपाइने

विराटनगर, १० फागुन । प्रदेश १ का १४ वटै जिल्लामा आजदेखि सवारी साधनलाई प्रेसर हर्न बजाउन पूर्ण रुपमा रोक लगाइएको छ । प्रदेशलाई हर्न निषेधित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान चलाएर कडाई थालेको हो ।

प्रदेश १ का सबै ९२ वटै युनिटमा कार्यरत ट्राफिक प्रहरीले सवारी चालकलाई हात जोड्दै अबदेखि हर्न नबजाइदिन आग्रह गरेका छन् । बिहान १० बजे एकै पटक सडकमा हर्न निषेधको प्लेकार्डसहित निस्किएर अबदेखि हर्न बजाउन नपाइने जानकारी दिँदै सवारी चालकहरुलाई सचेत गराइएको हो ।

प्रदेशभरी नै सडकमा गुडिरहेका सवारी साधनलाई एक मिनेटजति रोकेर चालकलाई ट्राफिकले हर्न निषेध सम्बन्धी उर्दी जारी गरेको छ । चालकलाई हर्न नबजाउन आग्रह गर्दै हर्न निषेधित क्षेत्रको पूर्व सूचना दिन प्लेकार्डसहित सडकमा ट्राफिक प्रहरी निस्किएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताउनु भयो ।

चालकलाई दुई हात जोडेरै त्यस्तो आग्रह गरिएको बताउँदै उहाँले नटेर्नेलाई भने ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही अघि बढाइने जानकारी दिनु भयो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जथाभावी र मनपरी ढंगले हर्ज बजाएर ध्वनी प्रदूषण गराउने क्रम बढेपछि प्रदेशलाई हर्न निषेधित क्षेत्र बनाउन सवारी साधनलाई नियमन गर्न थालिएको जानकारी दिनु भयो । प्रदेशमा यसअघि नै हर्न निषेध कार्यान्वयनमा ल्याइएको थियो ।

लकडाउन लगायतका कारण सवारी नचल्दा हर्नको चिन्ता पनि थिएन । प्रदेशका जुनसुकै स्थानमा हर्न बजाउँदै सवारी चलाएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार जरिवानावापत पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म सजाय गरिने शर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button