Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज ४ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज । प्रदेश १ मा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुषको कोभिड अस्पतालमा अपराह्न १२ः३५ बजे मृत्यु भएको छ । उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलका अनुसार वृद्धमा श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि आजै ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार गर्दा–गर्दै उनको मृत्यु भएको बताइएको छ ।

वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ ।आज बिहान कोसी अस्पतालमै मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।

यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर २ का ५० वर्षीय संक्रमित पुरुषको पनि आज बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबिच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।सप्तरीको राजविराज–४ का ३९ वर्षीय पुरुषको आज बिहान ३ः१० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरको गोल्डेन अस्पतालबाट थप उपचारका लागि रेफर गरिएका संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

हाल सम्म प्रदेश १ मा ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button