Tune to BFM 91.2|Biratnagar

प्रदेश–१ मा कृषिमा नविनतम कार्यक्रम : मन्त्री आङ्वो

विराटनगर २ असार । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले कृषि क्षेत्रमा सरकारले नविनतम कार्यक्रम ल्याएको दाबी गर्नुभएको छ ।

आज विराटनगरमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री आङ्वोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखि उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेगरी नविनतम कार्यक्रम ल्याएको दाबी गर्नुभएको हो । छलफलमा आङ्वोले कतिपयले प्रदेश सरकारले कृषिको बजेट चालु आर्थिक वर्षको भन्दा थोरै विनियोजन गरेको टिप्पणी गरे पनि सरकारले कृषि क्षेत्रको बजेट नघटाएको स्पष्ट पार्नुभयो ।

कृषिअन्तर्गत सिंचाई पनि पर्ने भएकाले सिंचाई क्षेत्रको बजेट जोड्दा कृषिका लागि विनियोजन गरिएको बजेटको आकार ८ अर्बभन्दा बढी हुने उहाँको धारणा छ । यस्तै विसम परिस्थितिका कारण स्वास्थ्य क्षेत्रमा बजेट बढाउँदा पर्यटन र उद्योग क्षेत्रको बजेट घट्न गएको मन्त्री आङ्वोले जानकारी दिनुभयो ।

आङ्वोले उद्योग व्यवसाय क्षेत्रमा कोरोना महामारीले भएको क्षतिको अध्ययन गर्न छुट्टै कार्यदल पनि गठन गरी समस्या समाधान गरिने बताउनुभयो । उहाँले प्रदेश १ को बजेटले स्वास्थ्य, कृषि र प्राविधिक शिक्षामार्फत रोजगारीलाई विशेष प्राथमिकतामा राखेको दाबी गर्नुभयो ।

यसैवीच नेपाली कांग्रेसले प्रदेश १ को सरकारले ल्याएको बजेट कर्मकाण्डी र कार्यान्वयन नहुने भन्दै टिप्पणी गरेको छ । कांग्रेस संसदीय दलले आज बजेट र यसको कार्यान्वयन पक्षको विषयमा अर्थविदसँग भर्चुअल छलफल चलाएको छ ।

छलफलमा सहभागीले अर्थतन्त्र नै संकटमा परेका बेला संघीय सरकारको नीतिसँग तालमेल नहुने गरी प्रदेशले बजेट ल्याएको विज्ञले समेत टिप्पणी गरेका छन् । अर्थविद डा. गोविन्द पोखरेलले प्रदेश सरकारबाट आएको बजेट कार्यान्वयनमुखीभन्दा पनि प्रचारमा आधारित भएको टिप्पणी गनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button