Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाइयो

बिराटनगर १३ वैशाख । कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ । द्रुत परीक्षण विधि (आरडीटी) र पीसीआर दुवै विधिबाट परीक्षणको दायरा बढाइएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको उच्च संक्रमण देखिएको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा आशंका गरिएका मानिसमा कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

कोरोना संक्रमण देखिए पनि लक्षण नदेखिँदा पहिचानमा कठिनाइ भइरहेको छ, मन्त्री घिमिरेले भन्नुभयो अहिले सम्भावित जोखिमबाट बचाउन ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाएका छौं ।प्रदेश १ मा पीसीआरबाट सबैभन्दा बढी दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्न सकिनेछ ।

बिराटनगरको कोशी अस्पताल र सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार गरिएका ल्याबबाट दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।सामाजिक विकास मन्त्री घिमिरेका अनुसार कोशी अस्पतालको ल्याबबाट दैनिक १ सय र प्रतिष्ठानको ल्याबबाट दैनिक १२ जनाको स्वाब परीक्षण गर्न सकिन्छ ।

उहाका अनुसार यो मुलुककै सबैभन्दा बढी कोरोना परीक्षण गर्ने प्रदेश समेत हो ।धरानमा भएको ल्यावको क्षमता बढाएर त्यसलाई पनि केही दिन भित्रै १२ वटाबाट १ सय क्षमताको बनाउने तयारी भइरहेको छ । धरानको ल्याब पूर्ण क्षमतामा सञ्चालनमा आए प्रदेशमा दैनिक २ सय स्वाब परीक्षण गर्न सकिनेछ ।

यसैबिच प्रदेश एकमा कोरोना संक्रमित हुनेको दर उच्च भएपछि तत्काल थप १ सय बेडको कोरोना विषेश अस्पताल बनाउने काम शुरु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई विषेश कोराना अस्पताल बनाउने तयारीका साथ काम अघि बढाइएको हो । प्रतिष्ठानको कोरोना विषेश अस्पताल एक साताभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button