Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा जीव वैज्ञानिकहरुको कोभिड सचेतना अभियान सुरु

विराटनगर, ३ जेठ । प्रदेश १ मा रहेका जीव वैज्ञानिकहरुले कोभिड सचेतना अभियान सुरु गरेका छन् ।

विभिन्न सरोकारवालाहरुसँग छलफल, सचेतना सामग्री निर्माण तथा प्रशारण, स्रोत व्यक्तिको रुपमा कार्य गर्ने र सामाजिक सञ्जालमार्फत सचेतनामूलक सामग्री प्रवाह गर्ने अभियान सुरु गरिएको प्रदेश १ वैज्ञानिक समूहका संयोजक गणेश तामाङले बताउनुभयो ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा आफ्नो भूमिका खोज्दै वैज्ञानिकहरुले यस्तो अभियान सुरु गरेका हुन् । संयोजक तामाङले भन्नुभयोे–‘अघिल्लो महिनादेखि प्रदेश १ का जीव वैज्ञानिकहरु एकीकृत भएका छौँ र पहिलो चरणमा नीति निर्माता तहका व्यक्तिहरुसँग छलफल चलाएका छौँ ।’

यसअघि मुख्यमन्त्रीका प्रमुख सल्लाहकार, आन्तरिक मामिला तथा कानुन मन्त्री, सामाजिक विकास मन्त्री र शिक्षा विकास निर्देशकसँग छलफल गरी वैज्ञानिकहरुले आफ्नो राय प्रस्तुत गरेका थिए । ‘

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत सचेतनामूलक सामग्रीहरुको प्रस्तुति गर्दै आएका छौँ’ –तामाङले भन्नुभयोे–‘हामीले रोष्टर तयार गरेका छौँ यदि कुनै आम सञ्चारका माध्यमबाट स्रोत व्यक्तिको भूमिकामा आमन्त्रण गरेमा हाम्रो ज्ञान सर्वसाधारणसम्म पुर्याउन तयार छौँ र सो काम गरिरहेका पनि छौँ ।’ कोभिडबारे जिज्ञासाहरु भएमा उहाँहरुको पेजमा जो कोहीले राख्न सकिने र सोको समाधान पाइने व्यवस्था गरिएको छ ।

जीव वैज्ञानिकहरुले पीसीआर परीक्षणका लागि प्रदेश सरकारसँग अनुमति माग गरेका छन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानका सहायक क्याम्पस प्रमुखसमेत रहेका सूक्ष्मजीव वैज्ञानिक हेमन्त खनालले पीसीआर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको प्रयोगशाला क्याम्पसमा रहेकोले आफूहरु सो काम गर्न तयार रहेको बताउनुभयो ।

नेपालमा ९० हजार वैज्ञानिक जनशक्ति छ जसमध्ये २२ हजार साधारण विज्ञानसँग सम्बन्धित छन् । प्रदेश १ को वैज्ञानिक समूहमा जीव विज्ञान अन्तर्गतका प्राणीविज्ञान, वनस्पति, सूक्ष्मजीव विज्ञान, जीव, रसायन, जैविक प्रविधि, वातावरण विज्ञानलगायत विधाका वैज्ञानिकहरु समाविष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button