Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा दाहाल–नेपाल पक्षका १५ प्रदेश सदस्य निलम्बित

विराटनगर, १६ पुस । नेकपा प्रदेश १ संसदीय दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका १५ जना प्रदेश सभा सदस्यलाई ३ महिनाका लागि निलम्बन गरेको छ । संसद विघटनपछि विभाजित बनेको नेकपाभित्र एकले अर्कालाई कारबाही गर्ने क्रम बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना सदस्यलाई निलम्बन गरिएको जानकारी दिनु भयो । निलम्बन गरिएकाहरु नसच्चिए थप कारबाही गर्ने तयारी रहेको उहाँको भनाइ छ । गत आइतबार संसदीय दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये १९ जना प्रदेश सदस्यहरुलाई दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर, स्पष्टीकरण सोधिएकामध्ये चार जनाले मौखिक जवाफ मात्रै दिएका छन् । अन्यले एक दिनको समय माग गरेका कारण थप कारबाही अघि नबढाइएको राजभण्डारीले बताउनु भयो । उहाँका अनुसार स्पष्टीकरण नदिएकालाई भने कारबाही गरिने छ । दाहाल–नेपाल समूहका एक प्रदेश सदस्यले भने स्पष्टीकरणको जवाफ नफर्काएको बताएका छन् । उहाँले सामूहिक रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएको हुँदा एकल रुपमा आफूले जवाफ दिने कुरा नभएको दाबी गर्नु भयो । त्यस क्रममा प्रमुख सचेतक राजभण्डारीले प्रदेश सभाको नियमित अधिवेशन माघ ७ गते र नेकपाको संसदीय दलको बैठक बोलाउने प्रस्टाएका छन् ।

अर्कोतर्फ दाहाल–नेपाल पक्षले संसदीय दलको नेता एवं मुख्यमन्त्री शेरधन राईलाई हटाउने र भीम आचार्यलाई दलको नेता बनाउने निर्णय गरेको छ । यस विषयमा राजभण्डारीले सो निर्णय आधिकारीक नभएको बताउनु भयो । दाहाल–नेपाल समूहबाट दलका उप–नेता टंक आङबुहाङले १९ गतेका लागि बोलाएको दलको बैठकको औचित्य नभएको दाबी राजभण्डारीको छ । प्रदेश १ मा पुस १९ गते उक्त समूहले दलको बैठक डाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button