विराटनगर ११ मंसिर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेति गर्न सकिने भएपनि यो वर्ष ३ लाख २० हजार १ सय ३४ हेक्टरमा खेति गरिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । यो वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिक टन धान उत्पादन भएको अनुमानित विवरण निर्देशनालयले सार्वजनिक गरेको छ । किसानहरुले अझै धान काट्ने र दाउनी गर्न बाँकी रहेकोले अन्तिम विवरण आउन केही समय पर्खनु पर्ने निर्देशनालयका सूचना अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो । निर्देशनालयका अनुसार अघिल्लो वर्ष भन्दा ६२ हजार ९ सय २५ मेट्रिक टन कम उत्पादन भएको हो । अघिल्लो वर्ष प्रदेश १ मा १२ लाख ६१ हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । सोलुखुम्बुमा यस वर्ष धान खेति योग्य शतप्रतिशत जमिनमा धान खेति गरिएको थियो । यस्तै झापामा धानको उत्पादकत्वपनि सबै भन्दा राम्रो छ । झापामा यो वर्ष प्रतिहेक्टर ४ दशमलव ५० मेट्रिक टनको दरले धान फलेको निर्देशनालयले जनाएको छ । धान उत्पादनमा महत्वपूर्ण योगदान दिने झापा, मोरङ र सुनसरी मध्ये यो वर्ष मोरङ र सुनसरीको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १० मेट्रिक टन रहेको छ ।
Must Read
पूर्वाञ्चल विश्वविद्यालय विरुद्ध रिले अनसनमा विद्यार्थी
विराटनगर, २० मंसिर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले आजबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन् । उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी...