Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा

विराटनगर, ९ साउन । प्रदेशका सबै मन्त्रालय तथा निकाय र सबै स्थानीय तहसँग सिधा सम्पर्कका लागि प्रदेश १ सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को स्थापना गरि सञ्चालनमा ल्याएको छ ।

प्रदेश नं. १ को विकासमा स्विटजरल्याण्ड सरकारले उपलब्ध गराएको १ अर्ब अनुदानबाटको सहयोगमा प्रदेश सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को स्थापना गरि सञ्चालनमा ल्याएको हो । आज विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रमबीच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को शुभारम्भ गर्नुभयो ।

ड्यासबोर्डले प्रदेश नं. १ मा रहेका मन्त्रालय, त्यस अन्तर्गतका विभाग र कार्यालयहरुको कार्यप्रगति मुल्याङ्कन गरि सुशासन र पारदर्शिता कायम गर्न सघाउ पुर्याउने प्रदेश सरकारले विश्वास लिएको छ ।

ड्यासबोर्डलाई प्रदेश नं. १ का १ सय ३७ वटै पालिकाहरुसँग लिङ्क गरि आम नागरिकका सल्लाह, सुझाव र जनअपेक्षा प्राप्त हुने तथा सोही अनुरुपको गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने प्रदेश सरकारको योजना रहेको छ । ड्यासबोर्डले प्रदेशका सबै मन्त्रालयहरुको कार्यप्रगति मुल्याङ्कन गरि त्यसलाई रातो, हरियो, पँहेलो र निलो रङ्गमा वर्गीकरण गर्नेछ । जसअन्तर्गत हरियो रङ्ग पाउने मन्त्रालयले ७० प्रतिशतभन्दा माथि, निलो रङ्ग पाउने मन्त्रालयले ५० देखि ७० प्रतिशत, पहेँलो रङ्ग पाउने मन्त्रालयले ४० देखि ५० प्रतिशत र रातो रङ्ग पाउने मन्त्रालयले ४० प्रतिशतभन्दा मुनि कार्यप्रगति गरेको भनी बिश्लेषण गर्न सकिने प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभयो ।

ड्यासबोर्डमा प्राप्त हुने सूचनाहरुका आधारमा मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय, निर्देशनालय, आयोजनाहरुबाट सञ्चान भईरहेका कार्यक्रमहरुको भौतिक तथा वित्तिय प्रगतिको समिक्षा गरी तत्कालै आवश्यक निर्देशन, सुझाव र समन्वय गर्न सघाउ पुग्नेछ । यो ड्यासबोर्डबाट दैनिक भइरहेका प्रगतिको अनुगमन तथा मूल्यांकन हुने र त्यही आधारमा आवश्यक सहयोग र निर्देशन हुनेछ ।

जसका कारण सञ्चालित सबै योजना कार्यक्रमहरुको उच्चस्तरको प्रगति हुने र सेवा विस्तारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । ड्यासबोर्डमा प्राप्त हुने सूचनाका आधारमा प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन हुनुका साथै योजनाहरुमा आई परेका समस्याको समाधान गर्न सहयोग पुग्नेछ ।

यसबाट स्थानीय तह र संघीय सरकारबाट समेत सञ्चालन हुने कार्यक्रमहरुको दोहोरोपन मद्धत पुग्ने अपेक्षा गरिएको छ । ड्यासबोर्डबाट प्रदेश र स्थानीय तहका कार्यक्रमहरुको समन्वय समेत हुनेछ । प्रदेश अन्तर्गत सञ्चालित सबै खालका कार्यक्रमहरुको प्रगति समिक्षा गर्न र आवश्यक समन्वय गर्न ड्यासबोर्ड महत्वपूर्ण हुने प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button