Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४३ पुग्यो

विराटनगर, २२ भदौ । प्रदेश १ मा हालसम्ममा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या ४३ पुगेको छ । ज्यान गुमाउनेमा ११ महिला र ३२ पुरुष छन् । मृत्यु भएकामध्ये ३१ जना प्रदेश १ कै र १२ जना प्रदेश २ का बासिन्दा हुन् ।

पछिल्लो पटक विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ७६ वर्षीय वृद्ध पुरुषको आज बिहान ३ः१५ बजेतिर मृत्यु भएको छ ।

भदौ ११ गते संक्रमण पुष्टि भएसँगै १० दिन ‘होम आइसोलेसन’मा बसेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएपछि गत शनिबार उपचारका लागि कोभिड अस्पताल लगिएको थियो । त्यस्तै मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा हिजो साँझ बूढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ १९ गते उपचारका लागि अस्पताल भर्ना गरिएका उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले बताउनु भयो । हिजो विराटनगर र झापाका दुई जनाको पनि मृत्यु भएको थियो ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–२ का ७० वर्षीय वृद्ध र झापाको कन्काई–३ की ४५ वर्षीया महिला छन् । वृद्धको कोशी अस्पताल विराटनगर र महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

हालसम्म ज्यान गुमाउने प्रदेश १ स्थायी ठेगाना भएका संक्रमितमा सबैभन्दा बढी मोरङका २४ जना रहेका छन् । मोरङको पनि प्रदेश राजधानी विराटनगरका १५ जना रहेका छन् । त्यस बाहेक बूढीगंगाका चार र धनपालथान, सुनवर्षी, रंगेली, पथरीशनिश्चरे तथा बेलबारीका एक÷एक जना रहेका छन् । मोरङपछि सबैभन्दा बढी सुनसरीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा ज्यान गुमाउने सबै धरान उपमहानगरपालिकाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिका र कन्काईका एक÷एक जना संक्रमितको पनि मृत्यु भइसकेको छ । अन्य १२ जना मृतक प्रदेश २ का हुन् । मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button