Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा बिरामी घटे

विराटनगर ३० चैत । प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरसका नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ । १४ वटै जिल्लास्थित अस्पतालहरुमा रहेका आइसोलेसन वार्डमा तीन दिन यता बिरामी थपिएका छैनन् ।

हाल आइसोलेसनमा बस्ने बिरामीको संख्या १० जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । १४ वटै जिल्लाका ४८ अस्पतालमा ४ सय ३२ शैयाको आइसोलेसन वार्ड र ४ वटा अस्पतालमा ४४ शैयाको आईसियू वार्ड तयार गरिएको छ ।

यसैबीच प्रदेश १ मा कोरोना भाइरसको शंकास्पद बिरामीको स्वाबको नमुना संकलनमा वृद्धि भएको छ । आजसम्म ४४ महिला र १ सय ७८ पुरुष गरी २ सय २२ जना शंकास्पद संक्रमितको नमुना संकलन गरिएको छ ।

१ सय ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३२ जनाको आउन बाँकी छ । प्रदेश १ मा शुक्रबारबाट कोसी अस्पतालमा समेत स्वाबको नमुना परीक्षण सुरु गरिएको छ भने क्वारेन्टाइनहरुमा र्यापिड टेस्ट थालिएको छ ।

आज प्रदेश १ भरि २ सय ६३ जनाको र्यापिड टेस्ट गरिएको छ । सवैको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै स्वाबको नमूना परीक्षण हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button