Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा शंकास्पदमाथि निगरानी बढाइयो


विराटनगर, ७ कात्तिक । मोरङ प्रहरीले आपराधिक गतिविधी र सम्भावित घटनाको विश्लेषण गर्दै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ । दसैं लगायत चाडपर्वका बेला अपराध गर्ने एवं अवैध तरिकाले लाभ उठाउन खोज्ने प्रयास कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो ।

चाडपर्वका बेला हुनसक्ने अपराधिक घटना नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न परिचालित प्रहरीको नेतृत्व एसपी खड्का आफैले गरेका छन् । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला सुरु भएका चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन मोरङमा एक हजार दुई सय ३३ जना प्रहरी परिचालन गरिएको एसपी खड्काले बताउनुभयो । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सादा पोशाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको उहाँको भनाइ ।

प्रहरीको पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउन थालेको छ । चाडपर्वका समयमा प्रदेशको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताएका छन् । उहाँले चाडपर्वलाई लक्षित गर्दै प्रदेशका १४ वटै जिल्लाको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको जानकारी दिनुभयो ।

ठूलो संख्यामा प्रहरी परिचालन गर्दै शंकास्पद ठाउँहरुमा निगरानी बढाउने, गलत गर्न खोज्नेलाई नियन्त्रणमा लिने तथा सार्वजनिक स्थलदेखि लिएर सबै ठाउँमा २४ घण्टानै सुरक्षा प्रदान गर्ने काम थालिएको कार्कीको भनाइ छ । उहाँले अपराध गरेर फाइदा उठाउने मनसाय राख्नेहरु तत्काल प्रहरीको फन्दामा पर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button