Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १० सांसदले छाडे एमाले, भीम आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित

विराटनगर, १६ भदौ । नेकपा (एमाले)बाट आफ्नो राजनीतिक यात्रा अघि बढाइरहेका प्रदेश १ का १० सांसदले आजदेखि औपचारिक रूपमा पार्टी छाडेका छन् । एमालेबाट विदा हुँदै उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । समाजवादीमा आवद्ध हुनलाई उनीहरुले प्रदेश १ निर्वाचन आयोगको कार्यालय विराटनगरमा पुगेर आज सनाखत गराए ।

एमाले छाडेर समाजवादी रोज्ने सांसदहरुमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनीता चौधरी, संखुवासभाकी सरीता थापा र पदमकुमारी गुरुङ रहनु भएको छ । निर्वाचन कार्यालयमा मोरङ बुढीगंगा ४ का वडाध्यक्ष रमेश खनाल र वडा नं. ५ का वडाध्यक्ष काशिम मियाले पनि समाजवादीमा सनाखत गरृेका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्नलाई आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिइएको छ । एमालेका १० सांसदले पार्टी छाड्दै नयाँ दल रोजेपछि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

एमालेका सचिव आचार्य नेतृत्वको सरकार एक सातामै अल्पमत परेको हो । उहाँ गत बिहीबार मात्रै प्रदेशका मुख्यमन्त्री बन्नु भएको थियो । एमाले छाडेर जान लागेका सांसदलाई आचार्यले एमालेमै रहन विभिन्न अफर गरेको बताइन्छ । उहाँले प्रदेशमा मन्त्री बनाउनेदेखि लिएर पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसम्मको प्रलोभन देखाए पनि एमालेमा रहन नसकिएको सांसद उपेन्द्र घिमिरेले बताउनु भयो । ‘अहिलेको सरकार अब धेरै दिन रहँदैन,’ समाजवादी रोजेका सांसद राजेन्द्र राईले भन्नु भयो, ‘अहिलेकोलाई ढालेर नयाँ गठबन्धन सरकार बनाउने प्रक्रिया अघि बढाउँछौँ ।’ प्रदेशसभामा विपक्षी गठबन्धनबाट बहुमत पुर्याएर नयाँ सरकार गठन गरिने उहाँको भनाइ छ । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

सभामुखसहित एमालेका ५१ सांसद थिए । १० जनाले समाजवादी रोजेपछि अब ४१ जना मात्रै बाँकी छन् । प्रदेशसभामा कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, जनता समाजवादी पार्टी (जसपा)का ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १-१ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button