Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ११ जना संक्रमित थपिए,३ जना डिस्चार्ज

विराटनगर, ७ साउन । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३/३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा आज ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ ।

कोरोना परीक्षण गरिएका मध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैवीच एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विराटनगरस्थित प्रदेश १ प्रदेश प्रहरी कार्यालय सील गरिएको छ ।

संक्रमण पुष्टि भएका प्रहरीलाई केही दिन अघि ज्वरो र हाच्छ्यूँ आउने लक्षण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गएराति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिनु भयो ।

उनी विराटनगरकै स्थानीय भएको बताइएको छ । कोरोना पुष्टि भएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको एसपी पोखरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button