Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १४८ प्रहरीलाई कारवाही

विराटनगर, २० कात्तिक । प्रदेश १ मा १ सय ४८ प्रहरीलाई कारवाही गरिएको छ । प्रहरी आचरण विपरित कार्यगर्ने २ जना प्रहरी निरीक्षक सहित १४८ जनालाई कारवाही गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कविन्द्र कार्कीले बताउनुभयो ।

डिआईजी इश्वरबाबु कार्कीले प्रदेश प्रहरीको नेतृत्व वैशाख ११ गते सम्हालेयता विभागीय कारबाहीमा पर्नेमा २ इन्सपेक्टर, १० सइ, १५ असइ, ३६ हवल्दार र ८५ जना प्रहरी जवान रहेको डिएसपी कार्कीले बताउनुभयो । उहाँका अनुसार तस्करसँग सेटिङ मिलाउने, आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको आचरण विपरीत काम गर्नेलाई डिआईजी कार्कीले कारवाही गर्नुभएको हो । गलत गर्ने प्रहरी कर्मचारीलाई निलम्बन गर्ने, नसिहद दिने तथा ग्रेड रोक्कासम्मको कारबाही भएको प्रवक्ता कार्कीले बताउनुभयो । अपराध नियन्त्रण, अनुसन्धान र कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेल्ने तथा सीमा क्षेत्रमा अहोरात्र खटिने दुई सय प्रहरीलाई पुरस्कृत गरिएको छ ।

डीआईजी कार्कीले आचरण विपरित गतिविधी गर्ने प्रहरीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नीति लिएको स्रोतले बतायो । यसैवीच नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न डिआईजी कार्की सक्रिय भएर लागेका छन् । कोरोना भाइरसको संक्रमण बढिरहेको र कोरोनाका कारण दुई देशबीचको नाका सिल भएको अवस्थामा पनि संस्थागत रुपमा हुने तस्करी नियन्त्रणमा आउन नसकेपछि त्यसलाई रोक्न डीआईजी आफै फिल्डमा निस्कने गर्नुभएको छ ।

स्वास्थ्य मापदण्डको पालना गरी कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न प्रहरीलाई डीआईजी कार्कीले निर्देशन पनि दिने गर्नुभएको छ । उहाँले मोरङका सीमावर्ती युनिटका प्रहरी प्रमुखलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा र झापाका सीमावर्ती युनिटका प्रमुखलाई इलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराएर कर्तव्य पालनामा दक्षचित्त भएर लाग्न निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button