Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १६६ सुरक्षाकर्मी संक्रमित

विराटनगर, ८ जेठ । कोरोनाको दोस्रो लहरपछि प्रदेश १ मा १६६ जना सुरक्षाकर्मीमा संक्रमित भएका छन् । संक्रमित हुनेमा एक सय ३४ जना नेपाल र ३२ जना सशस्त्र प्रहरी छन् ।

नेपाल प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) एक, प्रहरी निरीक्षक (इन्सपेक्टर) चार, नायव निरीक्षक (सइ) ११, सहायक निरीक्षक (असइ) १७, प्रहरी हवल्दार ३२ जना तथा ६ जना कार्यालय सहयोगीसहित अन्य प्रहरी जवानमा संक्रमण यकिन भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये ११ जना शनिबार दिउँसोसम्ममा निको भएर कोरोनामुक्त बनिसकेका छन् । सशस्त्र प्रहरीतर्फ सइ र असइ एक÷एक, वरिष्ठ हवल्दार दुई, हवल्दार एक, सहायक हवल्दार छ र जवान १२ जनामा संक्रमण पुष्टि भइसकेको छ । चार जना सशस्त्र प्रहरी संक्रमणमुक्त भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोना जोखिमको प्रवाह नगरिकन यतिबेला सर्वसाधारण जनतालाई संक्रमणबाट जोगाउने अभियानमा सुरक्षाकर्मी केन्द्रित रहेको बताउनुभयो । कोरोना नियन्त्रणमा अहोरात्र खटिँदा संक्रमित भए पनि जोखिमका बीचबाट आफू सुरक्षित हुँदै सुरक्षाकर्मी जिम्मेवारी पूरा गर्न लागिरहेको उहाँको भनाइ छ । अक्सिजनको सम्भावित अभावलाई मध्यनजर गर्दै सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयले कार्यदल नै बनाएको छ । प्रदेश १ का सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहाल र नेपाल प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले ड्युटीमा खटिने सुरक्षाकर्मीलाई साबुनपानीले नियमित हात धुन, मास्क र सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी पालन गरेर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।

डीआईजी कार्कीले कोरोना संक्रमण देखिन थाले पनि कार्यक्षेत्रबाट नेपाल प्रहरी पछि नहट्ने बताउनुभयो । सशस्त्रका डीआईजी दाहालले सर्वसाधारण जनता बच्दा सबै बच्छौँ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आफू जोखिममा परे पनि सुरक्षाकर्मी जनसेवामा दत्तचित्त भएर लागेको उल्लेख गर्नुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button