Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १ जनाको मृत्यु, ५७ जना कोरोना संक्रमित थपिए

विराटनगर, १९ साउन । प्रदेश १ मा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट विराटनगर ५ का ७७ वर्षीय एक बृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । मृतक आज विहान १० वजे कोशी अस्पताल उपचारका लागि गएका थिए ।

मधुमेह र उच्चरक्तचाप भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल आएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख बस्नेतले बताउनुभयो । स्वाव लिएर कोशीको आईसोलेसनमा उपचाररत उनको आज दिउँसो सवा ३ वजे मृत्यु भएको थियो । कोरोना रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको प्रमुख बस्नेतले बताउनुभयो ।

उनको ट्राभल हिष्ट्री नभएको बताईएको छ । मृतकको शव परिवारलाई बुझाउने तयारी भईरहेको बताईको छ । मोरंगमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो ।

विराटनगरमा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला, रंगेलीमा १३ पुरुष, ९ महिला, कटहरीमा २ महिला, झापाको अर्जुनधारामा ५ पुरुष , विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ । प्रदेश १ मा आज ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.मेहताले बताउनुभयो ।

प्रदेश १ मा हाल सम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button