प्रदेश १ सरकारका तीन जना मन्त्रीको राजीनामा
विराटनगर १२ पुस । प्रदेश १ सरकारका तीन जना मन्त्रीले आज बिहान संयुक्त रुपमा राजीनामा दिनु भएको छ । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास रहनु भएको छ ।
राजीनामा दिनेहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको प्रतिकामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नैतिकताले नदिएको भन्दै उनीहरुले राजीनामा दिनु भएको हो ।
उहाँहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा बुझाउनु भएको छ । तीनै जनाले वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमका कारण प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गर्न असमर्थ रहेको व्यहोरासहित राजीनामा पेस गर्नु भएको हो ।