Tune to BFM 91.2|Biratnagar

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश

विराटनगर २७ जेठ । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ ।प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

सरकारको आगामी वार्षिक निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता प्रदान गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोेजना तयार पारिएको छ । गुरुयोजनाअन्र्तगत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शैयामा स्तरोन्नति गरिने सरकारको तयारी छ । गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने प्रदेशप्रमुख प्यासीद्धारा पेश गरिएको निति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेशद्वारा सञ्चालित कोशी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गरिने प्रदेश सरकारको योजना छ ।

सबै माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षकशिक्षिकाद्वारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने सरकारको वार्षिक नितिमा समावेश गरिएको छ । यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयमा प्रदान गरिने दिवा खाजा तथा पोषण सामाग्रीको स्तरीयता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्डमा आधारित उक्त सामग्रीको आपूर्ति व्यवस्थापन समेत गर्ने जनाएको छ । यस्तै आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलाई निरन्तरता प्रदान गरिने सरकारको योजना छ । मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग प्रतियोगितालाई निरन्तरता प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button