Tune to BFM 91.2|Biratnagar

प्रदेश १ सरकारले विराटनगरमा स्वास्थ्य ल्याब सञ्चालन गर्ने

विराटनगर, ५ भदौ । प्रदेश १ सरकारले प्रदेशस्तरीय अत्याधुनिक स्वास्थ्य ल्याब (प्रयोगशाला) विराटनगरमा सञ्चालन गर्ने भएको छ ।

आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले विराटनगरस्थित स्नातकोत्तर क्याम्पसको जमिन भाडामा लिएर स्वास्थ्य ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले स्वीस सरकारको अनुदानमा प्रदेशस्तरीय अत्याधुनिक ल्याब निमार्णका लागि समाजिक विकास मन्त्रालय र क्याम्पसबीच सम्झौता भएर अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिनु भयो ।

त्यसैगरि, सामाजिक विकास मन्त्रालयका वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन सञ्चालन सम्बन्धी कार्यविधी २०७७ लाई स्वीकृत गरेको प्रवक्ता कार्कीले बताउनु भयो । विराटनगरमा सञ्चालनमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आवश्यक दक्ष जनशक्ति पदपूर्ति गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार सामाजिक विकास मन्त्रालयले कोभिड–१९ उपचार केन्द्रमा लेभल २ को उपचारका लागि आवश्यक दक्ष जनशक्तिको माग गरे अनुसार बैठकले विज्ञहरुसँगको छलफलबाट दरबन्दी खुला गरेर कार्य अघि बढाउने निर्णय गरेको हो ।

बैठकले वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजना तथा जलाधार व्यवस्थापन कार्यान्वयन इकाईको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले कोभिड– १९ संक्रमितको उपचारका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारको काम कारबाहीको अनौपचारिक समीक्षा पनि बैठकमा भएको बताउनु भयो ।

जसमा तीन तहको सरकारको काम जनअपेक्षा अनुसार भएको बैठकको ठम्याई छ । बैठकबारे जानकारी दिँदै कार्कीले बढ्दो संक्रमण दरलाई रोक्न र उपचारका लागि सामाजिक विकास मन्त्रालयको अगुवाईमा आइसोलेसन वार्ड निर्माण गर्नेतर्फ सरकार केन्द्रित भइरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button