Tune to BFM 91.2|Biratnagar

प्रदेश १ सरकारले सीमा नाकामा डेस्क स्थापना गर्ने

विराटनगर, २९ फागुन । विश्वव्यापी बनेको कोरोनाको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश १ सरकारले योजनाबद्ध तयारी थालेको छ । कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि सरकारले एकीकृत कार्ययोजना तयार पारेको हो ।

आज सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले कार्ययोजना पारित गर्दै तत्कालै लागू गरिने जनाएको छ। मुख्यमन्त्री शेरधन राईका अनुसार एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरुको गोपनीयता राख्नेसम्मका योजना रहेका छन ।

प्रदेश सरकारकै अगुवाईमा २३ बुँदे योजना तत्कालै कार्यान्वयन गरिने मुख्यमन्त्री राईले बताउनुभयो । कार्ययोजनामा व्यक्तिगत सरसफाईबारे सचेतना फैलाउने, अन्तर्राष्ट्रिय र प्रदेश नाकाहरुमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा पनि डेस्क स्थापना गर्ने, आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्ने उल्लेख छ ।

यसैगरी शंकास्पद व्यक्तिलाई त्यस्तो डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसनसम्म पुर्याउने प्रबन्ध पनि गरिएको सरकारको भनाइ छ । प्रदेश सरकारको कार्ययोजनामा हरेक नाकामा ९ र विमानस्थलमा ६ जनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिने उल्लेख छ। औषधि, औजारहरुको स्टक र ढुवानीको प्रबन्ध गर्ने, कोशी, मेची, बीएण्डसी र धरानस्थित वीपी प्रतिष्ठानमा घटीमा ३० वटा आइसोलेसन बेड तयार पारिने सरकारको कार्ययोजनामा उल्लेख छ ।

प्रदेश सरकारले पाँच वटा सीमा नाकाहरु जोगवनी, काँकडभिट्टा, भद्रपुर, पशुपतिनगर र भन्टाबारीमा चालक र मेडिकल टोलीसहितको एम्बुलेन्स सेवा पनि तैनाथ गरिने जनाएको छ । प्रदेश र जिल्ला तहमा पनि २–२ वटाकै दरले २० वटा एम्बुलेन्स तयार राखिने कार्ययोजनामा उल्लेख छ ।

स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने, योजनामा उल्लेख गरिएको छ । प्रदेश सरकारले पहिलो चरणमा सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।

यी सबै काम सम्पन्न गर्न मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरिने प्रदेश सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button