Tune to BFM 91.2|Biratnagar

प्रदेश १ : होटल र अस्पतालमा आईसोलेसन केन्द्र सञ्चालन गरिने

विराटनगर २६ साउन । प्रदेश १ का कोरोना प्रभावित तीन जिल्लाका होटलमा आईसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आईतबार बसेको प्रदेश १ को कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले झापा, मोरंग र सुनसरी जिल्लाका एक–एक वटा होटल र निजि अस्पतालमा आईसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गईरहेकाले निजि अस्पताल र होटलमा आईसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनुभयो । झापा, मोरंग र सुनसरीमा मात्र आईतबार सम्म १ हजार १ सय ५८ जना संक्रमित भएका छन् । तीन जिल्लामा पनि मोरंगका संक्रमित ५ सय ७१ छन् ।

सीसीएमसी बैठकले लक्षण विहिन कोरोना संक्रमितका लागि स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५०, जनता क्याम्पस रंगेलीको भवनमा १ सय र सुनसरीको हरिनगर गाउँपालिकाको वि.जेनरल अस्पतालमा ५० र बराहक्षेत्र नगरपालिकाको कृष्णदास आश्रममा १ सय वेडको आईसोलेसन केन्द्र थप गर्ने निर्णय गरिएको छ ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको लकडाउन हटाईएपछि कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button