Tune to BFM 91.2|Biratnagar

प्रधानमन्त्री ओली आज विराटनगर आउँदै


विराटनगर ८ फागुन। आफ्नो पक्षले आयोजना गर्ने आमसभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान प्रदेश १ को राजधानी विराटनगर आउँदै हुनुहुन्छ । गत पुस ५ गते संसद विघटन गरिएपछि ओली समूहले आफ्नो पक्षमा जनमत देखाउन र आगामी वैशाख १७ र २७ गते हुने भनेर घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिन जनप्रदर्शन र सभाको आयोजना गरिरहेको छ ।

ओलीले विभिन्न कार्यक्रममार्फत संसद विघटन गर्नुपर्ने कारण पनि प्रष्ट पार्ने प्रयास गरिरहनु भएको छ । विराटनगरमा पनि त्यसकै लागि शक्ति प्रदर्शन र आमसभा गरिँदै छ । विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होम अगाडिको खाली मैदानमा कार्यक्रम हुने पक्का भइसकेको छ । सभाअघि विराटनगरका विभिन्न ठाउँबाट शक्ति प्रदर्शन गरिने भएको छ । ओली विराटनगरमा हुने आमसभाको प्रमुख अतिथी एवं मुख्य वक्ताका रुपमा आउनु हुने छ ।

आमसभालाई सम्बोधन गर्न उनी बिहान ११ बजेपछि श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो । केही बेर नेता कार्यकर्तासँग भेटघाट गरेपछि उहाँ १२ बजे आमसभा स्थलमा पुग्ने कार्यक्रम छ । ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विराटनगर विमानस्थलमा ओर्लिएपछि लगभग एक घण्टाजति प्रधानमन्त्री ओलीले होटल एसियाटिकमा आराम गर्नु हुने छ ।

होटलमा नै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतका आफू पक्षीय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची रहेको बताइएको छ । ओलीले संसद विघटन गरेपछि प्रदेशको राजनीतिमा पनि उतारचढाव आइरहेको छ । केन्द्रीय राजनीतिको प्रभावका कारण पछिल्लो समय प्रदेशको राजनीति पनि थप पेचिलो बन्दै गइरहेको छ । त्यही भएकाले प्रदेशको पछिल्लो राजनैतिक अवस्था, सत्ता समीकरण र भविश्यमा आउनसक्ने सम्भावित अवस्थाका बारेमा मुख्यमन्त्री राई र आफू पक्षीय नेताहरुसँग छलफल गर्ने ओलीको तयारी रहेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button