Tune to BFM 91.2|Biratnagar

प्रधानाध्यापक श्रेष्ठको अन्त्येष्टि

विराटनगर, २५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नियन्त्रणमा लिएर विभत्स हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ ।

मिक्लाजुङ–२ स्थित मुल घरमा रातभर शव राखेर आज बिहान १० बजेतिर अन्त्येष्टि गरिएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनु भयो । उहाँको अन्त्येष्टिमा सयौं सर्वसाधारण, राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अगुवा सहभागी बनेका थिए । ‘राजेन्द्र सरमाथि भएको यस्तो अमानवीय घटना गराउनेलाई राज्यले छुट दिन हुँदैन,’ श्रेष्ठको अन्तिम संस्कारमा सहभागी बनेका गाउँपालिका प्रमुख आचार्यले भन्नु भयो, ‘घटना हेर्दा राज्य निरिह र विप्लव समूह शक्तिसाली बनेकोजस्तो देखियो ।’

गाउँको विकास, समाज सेवा र शिक्षा क्षेत्रको उन्नयनमा सक्रिय रहेर अहोरात्र खट्ने शिक्षकलाई विप्लव समूहले सुकारीको आरोप लगाएर हत्या गरेको स्थानीयको भनाइ छ । श्रेष्ठको अन्तिम विदाई तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव दिनानाथ तिम्सिनाले बालबालिकालाई कखरा सिकाउने र समाजमा सधैं शिक्षाको ज्योति छर्ने शिक्षकको हत्या गरेर विप्लव समूहले आफ्नो अमानवीय व्यवहार छर्लङ्ग पारेको बताउनु भयो ।

हत्याको घटनाले नेपालका चार लाख बढी शिक्षक स्तब्ध भएको बताउँदै उहाँले पीडित परिवारलाई तत्काल न्याय दिन सके मात्रै राजेन्द्रकुमार श्रेष्ठप्रति सम्मान हुने उल्लेख गर्नु भयो । श्रेष्ठ परिवारले न्याय नपाएर सबै शिक्षक मिलेर आन्दोलन गर्नुको विकल्प नरहने तिम्सिनाको भनाइ छ । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य गुरु बरालले कुनै पनि राजनैतिक एजेन्डाबिना आन्दोलनको नाम दिएर व्यक्ति हत्या गर्ने छुट कसैलाई नभएको बताउनु भयो । श्रद्धाञ्जली सभामा प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडा, प्रदेशसभा सदस्यहरु उपेन्द्र घिमिरे, कुलप्रसाद साम्बा, मिक्लाजुङ गाउँपालिका अध्यक्ष आचार्य, उपाध्यक्ष सरला राई, नेकपा मिक्लाजुङ अध्यक्ष नरेन्द्रप्रसाद ढुंगेल, सचिव दिनेश पौडेल लगायत सयौंको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button