प्रशासकीयको क्वार्टरमा मेयरको ताला

0
64

विराटनगर, २७ भदौ । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले उर्लाबारी छाडेपछि उहाँको क्वार्टरमा मेयर खड्गबहादुर फागोले ताला लगाइदिनु भएको छ । नगर प्रहरी खटाएर तालाबन्दी गरिएको हो । स्रोतकाअनुसार नगर प्रमुख फागो र रेग्मीबीच हिजो सामान्य भनाभन भएको थियो । त्यसपछि असुरक्षित भएको भन्दै रेग्मीले उर्लाबारी छाड्नु भएको थियो । उहाँले मेयरबाट असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन समेत दिनु भएको छ । रेग्मी विदामा बसेका विषयलाई लिएर दुई जनाबीच विवाद भएको जनाएको छ । जिल्ला प्रशासनले रेग्मीलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरीलाई निर्देशन दिएको छ । मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले शान्ति सुरक्षाको माग गर्दै पत्र आएका कारण प्रहरीले त्यसका बारेमा अध्ययन गरिरहेको बताउनु भयो । रेग्मीसँग भने सम्पर्क हुन सकेन । मेयर फागोले भने असुरक्षित हुने गरी कुनै व्यवहार प्रमुख प्रशासकीय अधिकृतलाई नगरिएको बताउनु भयो । जानकारी नै नदिइकन रेग्मी विदामा बसेपछि यस विषयमा कुरा उठाउँदा सामान्य भनाभन भएको उहाँले बताउनु भयो । क्वार्टरमा केही महत्वपूर्ण सरसामान हुन सक्ने भएकाले सुरक्षाका लागि तालाबन्दी गरिएको फागोको भनाइ छ । प्रशासकीयको क्वार्टमा भएका सामान तलमाथि नहुन् र भोलिका दिनमा कुनै अपजस नआओस् भनेर ताला लगाइएको फागोले जानकारी फागोले दिनु भयो । यसैबीच मेयर फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादसँगै उर्लाबारी नगरपालिकामा एक महिनादेखि काम ठप्प थियो । कोरम नपुर्याइकन नगरसभा बोलाएको विरोधमा भण्डारीसहित १३ जना नगर कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतले गत साउन २७ गते नगरसभाको निर्णय कार्यन्यव नगर्न आदेश दिएपछि नगरको काम हालसम्म सूचारु हुन सकेको छैन । जसको प्रत्यक्ष मारमा सर्वसाधारण सेवाग्राही परेका छन् । फागो कांग्रेस र भण्डारी तत्कालिन एमालेबाट निर्वाचित हुनु हुन्छ । १९ जना कार्यपालिका सदस्य मध्ये फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले निर्णय गरेर गत असार २९ गते चौथो नगरसभा डाकेपछि भण्डारी पक्षधरले त्यसको विरोध गरेका थिए । नगर कार्यपालिकामा सत्तारुढ नेकपाका १३ सदस्यसहित बहुमत रहे पनि कांग्रेसबाट निर्वाचितहरुले अल्पमतमा हुँदाहुँदै एकलौटी निर्णय गरेको दाबी गर्दै नेकपाबाट निर्वाचितहरु विरोधमा छन् । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम सुचारु गर्न एक महिनापछि हिजो निर्देशन दिएको छ । स्रोतकाअनुसार मन्त्री लालबाबु पण्डितको एकल निर्णयबाट मन्त्रालयले निर्देशन दिएको हो । लामो समयसम्म काम अवरुद्ध भएको प्रति चासो व्यक्त गर्दै मन्त्रालयले निर्देशन दिएपछि थप अन्योल सिर्जना भएको छ । अदालतको आदेशले काम ठप्प भइरहँदा काम सुचारु गर्न निर्देशन दिएर मन्त्रालयको निर्देशन आएसँगै अन्योलता उत्पन्न भएको एक वडा अध्यक्षले बताए । उनकाअनुसार मन्त्रालयबाट तेस्रो नगरसभाका आधारमा काम सुचारु गर्न लिखित निर्देशन प्राप्त भएको छ । तर आज पनि उर्लाबारी नगरपालिकाको सेवा ठप्प रहयो । मेयर फागोले मन्त्रालयको निर्देशनपछि कार्यपालिकाको बैठकबोलाइएको जानकारी दिनु भयो । बैठक अहिले जारी छ । ‘मन्त्रालयको निर्देशन र अदालतको आदेशका सवालमा कसरी अघि बढ्ने भन्ने छलफल बैठकमा हुने छ,’ उहाँले भन्नु भयो, ‘मन्त्रालयलाई अटेर र अदालतको मानहानी गरे जस्तो पनि नहुने गरी अघि बढ्न सक्ने आधार खोज्ने छौं ।’ यस विषयमा कानुन व्यवसायीसँग समेत छलफल गरेर अघि बढ्ने फागोको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here