Tune to BFM 91.2|Biratnagar

प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाईते

विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिका–३ दूधफारम नजिकै हिजो साँझ प्रहरीले चलाएको गाडीका कारण भएको सवारी दुर्घटनालाई मोड्ने प्रयास गरिएको छ ।

प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा आफ्नो गल्ती ढाकछोप गर्न प्रहरीले मोटरसाइकल चालकलाई ल्याएर रातभर थुनेको छ । आफ्ना कारणले भएको दुर्घटनालाई ढाकछोप गर्दै गल्ती मोटरसाइकल चालकको देखाउने प्रयास भइरहेको प्रहरी स्रोतले बतायो । अहिले पनि मोटरसाइकल चालक विराटनगर –१२ का २२ वर्षीय महेन्द्र राई प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक (इन्सपेक्टर) मिलन थापा र लेखापाल प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहाल सवार रहेको बा २ झ ४४०७ नम्बरको गाडीले को ३३ प १५५० नम्बरको मोटरसाइकललाई दूधफारम नजिकै साँझ ७ :३० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर प्रहरीको गाडीको अगाडिको भाग र मोटरसाइकलमा क्षति पुगेको छ । प्रत्यक्षदर्शीकाअनुसार दुवै सवारी साधन उत्तरबाट दक्षिणतर्फ जाँदै थिए । अगाडि गुडिरहेको मोटरसाइकललाई पछाडिबाट एक्कासि प्रहरीको गाडीले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाइ छ । दुर्घटनामा परेर मोटरसाइकल चालक महेन्द्र राईको दायाँ घुँडा र कुममा चोट लागेको छ । तर प्रहरीले उल्टै मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर रातभर थुन्दै घटनामा आफ्नो गल्ती लुकाउने प्रयास गरेको हो ।

प्रहरीको गाडी इन्सपेक्टर थापाले चलाउनु भएको थियो । शान्ति सुरक्षा कायम गर्न तथा लकडाउन पालना गराउने सवालमा सवारी साधन अपुग भएपछि लकडाउन अवधि भरका लागि खानेपानी सरसफाई डिभिजन कार्यालयको उक्त गाडी जिल्ला प्रशासन कार्यालय मोरङले प्रहरीलाई उपलब्ध गराएको हो । तर इन्सपेक्टर थापा र लेखापाल दाहालले व्यक्तिगत प्रयोजनका लागि लिएर गएको गाडी दुर्घटनामा परेपछि भने ड्युटीका क्रममा घटना भएको भन्ने देखाइएको छ ।

दुर्घटनापछि भने प्रहरीको गाडीमा इन्सपेक्टर थापा मात्रै रहेको र दाहाल भने सवार नभएको भन्ने बनाइएको छ । दुर्घटना लगत्तै त्यहाँ ठूलो भीड जम्मा भएको थियो । उक्त भीड पन्छाउँदै प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लियो ।

दुर्घटनापछि शरीरमा चोटपकट लागेका चालकलाई उपचारका लागि पुर्याउनु पर्नेमा रातभर थुनिएको छ । इन्सपेक्टर थापाले भने आफू ड्युटी अफिसर भएकाले एरिया क्लियर गर्ने क्रममा मोटरसाइकलले प्रहरीको गाडीमा ठक्कर दिएको दाबी गर्नु भयो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button