प्रहरीको नयाँ भवनको शिलान्यास

0
103

विराटनगर, २७ साउन । इलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्यास गरिएको छ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले आज एक कार्यक्रमका बीच भवनको शिलान्यास गर्नु भएको हो । पुरानो भवन जीर्ण भएर काम गर्न अप्ठेरो भइरहेका बेला पाँच कट्ठा १० धुर क्षेत्रफलमा सात करोड रुपैयाँको लागतमा सुविधासम्पन्न आवास गृहसहितको भवन निर्माण हुन लागेको हो । एक वर्ष भित्रमा भवन निर्माण गरिसक्ने योजना छ । डीआईजी ज्ञवालीले नयाँ र सुविधासम्पन्न भवनसँगै त्यहाँबाट प्रवाह हुने सेवाको गुणस्तरको महत्व पनि बढी हुने बताउनु भयो । उहाँले प्रहरीलाई नागरिक र पीडित मैत्री सेवा प्रवाहमा जोड दिन निर्देशन दिनु भयो । ज्ञवालीले सेवाको स्तर वृद्धि गर्न समेत निर्देशन दिनु भयो । उहाँले सम्बन्धीत निर्माणकर्तालाई भवन तोकिएकै समयमा र मापदण्डमा निर्माण गरेर हस्तान्तरण गर्न आग्रह गर्नु भयो । कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरीले गर्ने कानुन कार्यान्वय मानव सभ्यताको विकाससँग जोडिएको बताउनु भयो । ‘शान्ति सुरक्षा कायम गर्न र सभ्यताको विकासमा पहिलो आवश्यकता कानुन कार्यान्वयन हो,’ उहाँले भन्नु भयो, ‘जबसम्म कानुन कार्यान्वयनमा सुधार हुँदैन तबसम्म शान्ति सुरक्षा र सभ्यताको विकासमा असर परिरहन्छ ।’ एसपी अधिकारीले समयअनुकुल प्रहरीका काम कारबाही प्रविधिमैत्री हुँदै जानु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here