Tune to BFM 91.2|Biratnagar

प्रहरीको सुरक्षामा नेकपा मोरङको कार्यालय

विराटनगर, १९ पुस । विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको पार्टी कार्यालयमा प्रहरीले सुरक्षा प्रदान गर्न थालेको छ । विभिन्न स्थानमा पार्टी कार्यालय सम्बन्धी विवाद बढेर झडपका घटना हुन थालेपछि विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको कार्यालयमा प्रहरीबाट सुरक्षा प्रदान गर्न थालिएको हो ।

पार्टी कार्यालयको सुरक्षाका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पनि गरिसकेको छ । कार्यालयको सुरक्षा एवं निगरानीका लागि अहिले हतियारसहितका र सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । पार्टी कार्यालयका विषयलाई लिएर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहबीच विवाद र झडप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको स्रोतले बतायो । हुनसक्ने सम्भावित खटना र सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो ।

‘पार्टी कार्यालय दाबी गर्ने समूहबीच विवाद, तोडफोड एवं झडप हुनसक्ने भएकाले सतर्कता बढाइएको हो,’ उहाँले भन्नु भयो, ‘अहिले प्रहरीबाट पार्टी कार्यालयमै बेस बनाएर नियमित गस्ती पेट्रोलिङ गर्ने काम भइरहेको छ ।’ स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था मिलाएको भए पनि मोरङमा नेकपाका दुई समूहबीच पार्टी कार्यालयको विषयलाई लिएर अहिलेसम्म विवाद भने भएको छैन । यद्यपी एकअर्काको विरोधमा भने खरो रुपमा उत्रिएका दुवै समूहले पार्टी कार्यालयको अनौपचारिक दाबी भने गरिरहेका छन् ।

अहिले ओली समूहले पाञ्चालीमा रहेको मदन भण्डारी स्मृति भवनलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरिरहेको छ । तत्कालीन नेकपा एमालेले प्रयोग गर्ने यो भवन एमाले र माओवादी एकीकरणपछि निर्माण भएको नेकपाले जिल्ला पार्टी कार्यालयका रुपमा प्रयोग गर्न थालेको थियो । एकीकरणअघि तत्कालीन माओवादीले भाडामा लिएर प्रयोग गरिरहेको कार्यालय भवनबाट पार्टी विभाजनपछि अहिले दाहाल–नेपाल समूहले आफ्ना गतिविधी अघि बढाइरहेको हो ।

नेकपा निर्माणपछि भने यस कार्यालयलाई पार्टीको प्रदेश १ सम्पर्क कार्यालय बनाइएको थियो । स्रोतका अनुसार पार्टीमा विभाजन आएपछि भने दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले पाञ्चाली र ओली समूहले तीनपैनीस्थित कार्यालय टेकेका छैनन् । आफ्नो अलग्गै भवन रहेकोभन्दै ओली समूह तीनपैनी नगएको हो । मोरङमा पार्टी कार्यालय सम्बन्धी विवादमा मुछिन नचाहेर दाहाल–नेपाल समूह भने पाञ्चाली नपुगेको हो । दल सम्बन्धी आधिकारिकता प्राप्त हुन बाँकी रहेकाले आफूहरु पाञ्चाली जान छाडेको यो समूहले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button