Tune to BFM 91.2|Biratnagar

प्रहरीद्वारा १४ लाखको अबैध समान बरामद

विराटनगर, १९ कात्तिक । चाडपर्वको बेला झापाको सीमा क्षेत्रमा प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट १४ लाख मुल्य बराबरको भन्सार छलेर ल्याईएका सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत सात लाख २१ हजार ७ सयको सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा बुझाएको छ ।यसैगरी, मेचीनगर नगरपालिका-१० शान्ति समाज टोलबाट १३ बोरा आतिसबाजी (पटाका)सहित दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर-५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पो चालक २९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।मे १ ह ५५२७ नं को टेम्पोमा गएराती चेकजाँच गर्दा प्रहरीले सात लाख मूल्य बराबरको पटाका बरामद गरेको हो ।

टेम्पोसहित पक्राउ परेका चालक प्रधान र पटाका ल्याउने दर्जीलाई कानूनी कार्वाहीका लागि धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

तिहार र छठ पर्व नजिकिँदै गएका कारण भारतबाट लुकिछिपी पटाका र अन्य सामान तस्करी हुनसक्ने सम्भावनालाई दृष्ट्रिगत गरी प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कोइरालाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button