Tune to BFM 91.2|Biratnagar

प्रहरीलाई छलेर भागेका थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । जिल्ला अदालत मोरङ परिषरबाट फरार बनेका लागुऔषध मुद्धाका दुई जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख रहेका छन् । उनीहरु नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको बताइएको छ । फरार रहेकामध्ये झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी अझै फरार छन् । क्यान्टिनमा खाजा खाने बहाना बनाएर उनीहरु भागेका थिए ।

लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका उनीहरु सोमबार दिउँसो ३ः३० बजेतिर प्रहरीलाई छलेर भागेका हुन् । दुवै जना पाँच÷पाँच दिनको म्याद थप भइसकेपछि प्रहरीलाई छल्दै हतकडीसहित फरार बनेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले भागेकामध्ये एक जना पक्राउ परेको र अर्का एक जनाको खोजी जारी राखिएको बताउनु भयो । शेख ब्राउन सुगर (खैरो हेरोइन)सहित कटहरी र चौधरी अन्य प्रकृतिका लागुऔषधसहित विराटनगरको बरगाछीबाट आइतबार पक्राउ परेका थिए ।

दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो । अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिनु भयो ।

गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रुपमा लिएर अनुसन्धान थालिएको डीएसपी राईले बताउनु भयो । डीएसपी राईका अनुसार दुवै जना कतातिर र कसरी भागे भन्ने यकिन हुन नसकिरहेको अबस्थामा एक जना भने पक्राउ परेको उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button