Tune to BFM 91.2|Biratnagar

प्रहरीलाई धम्की दिने तस्करीमा संलग्न व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २७ असार । ड्युटीमा खटिएका प्रहरीलाई विभिन्न खाले धम्की दिने एक व्यक्ति विराटनगर महानगरपालिका–१५ बाट पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काको निर्देशनमा पक्राउ पर्नेमा ३९ वर्षीय रामजी मण्डल छन् । मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ ।

मरिच र मटरको भारततर्फ र रजनीगन्धाको नेपालतर्फ तस्करी हुने गरेको छ । एसपी खड्का मोरङ प्रहरी प्रमुख बनेर आएपछि तस्करी धन्दा चलाउन नपाएका मण्डलले ड्युटीमा रहेका प्रहरीलाई तस्करीको लाइन खुलाउनु पर्ने भन्दै अनेक धम्की र दबाब दिने गरेको सुरक्षा स्रोतको भनाइ छ । मण्डलविरुद्ध प्रहरीले केही दिन अघि अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो ।

फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेत्रृत्वको टोलीले गयराति पक्राउ गरेर कारबाही अघि बढाउन हिरासतमा लिएको हो ।

मण्डलले तस्करी नियन्त्रणमा सक्रिय रहेर अवैध सामान वारपार गर्न नदिने प्रहरीलाई अन्यत्र सरुवा गरिदिने र जागिरसमेत खाइदिने धम्की दिएको एसपी खड्काको भनाइ छ । प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा असार १४ गतेराति विराटनगर–१६ दरैयाबाट ठूलो परिणामको मटर बरामद गरेको थियो ।

त्यतिबेला एक लाख ९५ हजार मूल्य बढीको दुई हजार चार सय २५ किलो मटर र मटर लोड गरिएको को १ त ६२१९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त मटर तस्करीमा मण्डलको संलग्नता रहेको प्रहरीको दाबी छ । त्यही रात मटर बरामद गरेको स्थान नजिकै सडकबाट प्रहरीले को १४ प ६८७४ नम्बरको मोटरसाइकल बेबारिसे र शंकास्पद अवस्थामा फेला पारेको थियो ।

मोटरसाइकल मण्डलकै रहेको खुलेको छ । तस्करी गर्दै गर्दा मटर नियन्त्रणमा लिइएको थाहा पाएर मोटरसाइकल बाटैमा छाडेर उनी फरार बनेका थिए । अनुसन्धानका लागि मोटरसाइकल ल्याएको विषयमा मण्डलले असार १८ गते साँझ ड्युटीमा रहेकी प्रहरी जवान कविता राउतमाथि अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गर्दै हातपातसमेत गरेको खुलेको छ ।

त्यसपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । अश्लिल गाली गलौज, दुरव्यवहार र हातपात गर्दै प्रहरीलाई ड्युटीमा बाधा अवरोध गरेको भनेर राउतले किटानी जाहेरीसमेत दिनु भएको छ । नेपाल–भारत सीमा क्षेत्र रानीमा रहेको चाइना मार्केटमा मण्डलको किराना पसल छ ।

त्यही पसलको आडमा उनले तस्करी धन्दा चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी खड्काले सीमा क्षेत्रबाट हुने अवैध धन्दा निमिट्यान्न पार्ने हिसाबमा प्रहरी काम कारबाही अघि बढाइएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button