Tune to BFM 91.2|Biratnagar

प्रहरीले दुःख दिएको मोरंगका ग्याँस विक्रेताको गुनासो

विराटनगर, ३ वैशाख । खाना पकाउने ग्यास (एलपीजी) को कारोबार गर्दै आएका मोरङका ग्यास बिक्रेताले प्रहरीले अनावश्यक दुःख दिएको गुनासो गरेका छन् ।

प्रहरीले अनावश्यक दुःख दिए ग्यास बिक्री बन्द गर्ने उनीहरुले चेतावनीसमेत दिएका छन् । लकडाउनको समयमा पनि सामाजिक दूरी कायम राख्दै उपभोक्ता समक्ष ग्यास पुर्याउन खटिएका बिक्रेतालाई गाली गर्दै मोरङका बिभिन्न स्थानमा प्रहरीले दुःख दिएको उनीहरुको गुनासो छ । बिक्रेताहरुको बैठकले प्रहरीले दुःख दिने क्रम नरोके ग्यास बिक्री बन्द गर्ने चेतावनी दिएको छ ।

प्रहरीले ग्यास व्यवसायीलाई गरेको व्यवहार प्रति ध्यानाकर्षण भएको समेत संघले जनाएको छ । संघले लकडाउनको बहानामा प्रहरीले व्यवसायीलाई हप्काउने र ग्यास पसल बन्द गर्न निर्देशन दिनुले सहज सेवामा खटिएका व्यवसायीको मनोबल घटेको जनाएको छ ।

सरकारले अत्यावश्यक सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ । संघका अध्यक्ष सरलराज पोखरेलले ग्यास पनि अत्यावश्यक वस्तुभित्र पर्ने भएकाले सहज रुपमा बिक्री वितरणको वातावरण मिलाइदिन प्रशासनसँग माग गर्नुभयो ।

संघका सचिव सूर्यमान बज्राचार्यले प्रहरीको व्यवहारमा सुधार नभए मोरङका सबै ग्यास पसल बन्द गर्न आफूहरु बाध्य हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button