प्रीतिलाई ब्ल्याकमेलिङ’ गर्ने अर्का युवा पनि पक्राउ
विराटनगर, १५ फागुन । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ गौशालाकी १९ वर्षीय प्रीति तिम्सिना (अधिकारी) ले आत्महत्या गरेको घटना अनुसन्धानका क्रममा अर्का युवा पनि पक्राउ परेका छन् । ‘ब्ल्याकमेलिङ’ गरेर पैसा माग्दै प्रीतिलाई तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको खुलेपछि सुन्दरहरैंचा–४ का २३ वर्षीय हिमाल आचार्य पक्राउ परेका हुन् ।
फेसबुकमा नजिकिएका सुन्दरहरैंचा–४ का २४ वर्षीय ऋषिराम भट्टराईले प्रीतिसँगको शारीरिक सम्पर्कको भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’ गर्दै नियमित पैसा माग्न थालेपछि उनले फागुन ८ गते बिहीबार दिउँसो झुन्डिएर आत्महत्या गरेको अनुसन्धानबाट खुलेको थियो । ऋषिरामले यौन सम्पर्क गरेको भिडियो बनाएर अर्कै ‘फेक’ फेसबुक आइडीमार्फत प्रीतिसँग ‘ब्ल्याकमेलिङ’ सुरु गरेर नियमित पैसा माग्न थालेको पत्ता लागेको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीकाअनुसार ‘ड्याजेलिङ क्विन’ नामको अर्को ‘फेक’ फेसबुक बनाएर ‘ब्ल्याकमेलिङ’ र पैसाको ‘बार्गेनिङ’ गरेका ऋषिरामले त्यो आइडीबाट भने दीपा नाम गरेको केटी बनेर प्रीतिसँग कुरा गर्ने गरेको खुलेको छ । त्यस क्रममा उनले यौन सम्पर्क गरेको भिडियो फेसबुकमा पोष्ट गरिदिने र नभए आफूलाई पैसा दिनु पर्ने भन्दै भन्दै प्रीतिसँग ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ गर्ने गर्थे ।
‘ऋषिरामले कहिले दुई हजार त कहिले पाँच हजार रुपैयाँ गरेर नौ पटकसम्म पैसा लिएको खुलेको छ,’ एसपी अधिकारीले भन्नु भयो, ‘उनी आफैले ‘बार्गेनिङ’ गरे पनि पैसा लिनलाई भने अर्कै युवतीको प्रयोग गर्ने गरेको खुल्यो ।’ ‘ब्ल्याकमेलिङ’ गरेर पैसा दिनेलिने टुँगो भइसकेपछि ऋषिरामले त्यो पैसा लिनलाई भने सुन्दरहरैंचा–६ की १९ वर्षीया सञ्जिता निरौलालाई पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सञ्जिता भने दीपा नाम गरेकी केटी आफूनै भएको भन्दै पैसा लिन पुग्ने गरेकी थिइन् । ऋषिराम र सञ्जितालाई पक्राउ गरेको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा यो घटनामा आचार्यको पनि संलग्नता रहेको पत्ता लगाएको हो । ऋषिराम र आचार्य साथी हुन् । उनीहरुकै मिलेमतोमा ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ हुने गरेको निस्कर्षमा प्रहरी पुगेको छ ।
फेक’ फेसबुकबाट ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ गर्दै पटक–पटक पैसा माग्ने क्रम नरोकिएका कारण दिनलाई आफूसँग पैसा नभएपछि र भिडियोका कारण बद्नाम हुने डरले प्रीतिले डेरा बसेको घरको कोठमा झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जना विरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाउन अदालतबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाएको छ ।
यो मुद्दा स्थापित भए पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । परिवारबाट छुट्टिएकी प्रीति दुई वर्षे छोरी र श्रीमानसँगै भीमकुमारी ढकालको घरमा डेरा बस्थिन् । उनी झुन्डिएको कोठा भित्र एउटा ‘सुसाड नोट’ र प्रीतिले प्रयोग गर्ने मोबाइल फेला परेको थियो । ‘सुसाड नोट’ र मोबाइललाई आधार मान्दै प्रहरीले अनुसन्धान अघि बढाएपछि पैसा कमाउने उदेश्यले ‘ब्ल्याकमेलिङ’ गरेर आत्महत्या गर्न बाध्य पार्नेहरु पक्राउ परेका हुन् ।