Tune to BFM 91.2|Biratnagar

फलफूल र तरकारी पसलमा आगलागी

विराटनगर, ८ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकमा गयराति फलफूल र तरकारी पसलमा आगलागी भएको छ ।

श्यामबाबु सुँडीको फलफूल र सुम्निमा श्रेष्ठको तरकारी पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार सुँडी र श्रेष्ठले पूर्णप्रसाद ढकालको जग्गा संरचना बनाएर पसल सञ्चालन गर्दै आएका थिए ।

फलफूल र तरकारीको गोदामनै रहेको घरमा राति १० बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगलागीबाट १० लाख बढीको क्षति भएको प्रनि ढकालले बताउनु भयो ।

उहाँका अनुसार आगोले दुवै पसल र पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् । आगो बेलबारी र सुन्दरहरैँचा नगरपालिकाबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

समयमै आगो नियन्त्रणमा लिन सकेका कारण अन्त फैलिएर थप क्षति हुन नपाएको ढकालको भनाइ छ । यही ठाउँमा रहेका तीनवटा होटलमा गत असार १४ गते राति पनि आगलागी भएको थियो । त्यतिबेला आगो नियन्त्रणमा लिने क्रममा छ जना घाइते भएका थिए ।

मन्दिरा न्यौपानेको ए–वान खाजा घर, अर्चना पोख्रेलको पोख्रेल स्टाफ होटल र रमेश डंगोलको धनकुटे समीर स्टाफ होटलमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो ।

त्यतिबेला आगलागी भएकै छेउमा रहेको फुलफूल र तरकारी पसलमा पुनः घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button