Tune to BFM 91.2|Biratnagar

विराटनगरमा फार्मेसीको अनुगमन तीव्र

विराटनगर, ११ जेठ । कोरोना भाइरसको त्रास बढिरहहँदा औषधि व्यवस्था विभाग विराटनगरले भने फार्मेसी (औषधि पसल) को अनुगमनलाई तीव्र पारेको छ ।

अनुगमनका क्रममा फार्मेसी सञ्चालकले ठूलै बद्मासी गर्ने गरेको पाइएको छ । विराटनगर अस्पताल एवं विराट नर्सिङ होम छेउछाउमा सञ्चालनमा रहेका फार्मेसीले म्याद सकिएको औषधि बिक्री गर्दै बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ ।

अनिल चौधरीले सञ्चालन गरेको मेडी प्लस फार्मेसीबाट जेसिक्स–४०० ब्राण्डको सेसिकजीम नामक औषधि म्याद सकिए पनि बेच्ने काम भइरहेको पाइएको हो । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले शरीरमा भएको संक्रमण रोक्न प्रयोग गरिने यो औषधि प्रयोगको अन्तिम मिति गत जेठ ५ गतेसम्मको मात्रै रहेको जानकारी दिए ।

फार्मेसीले विज्ञ बिनानै बिरामीलाई औषधि बेच्दै अर्को बद्मासी गरिरहेको पनि पाइएको छ । म्याद सकिएको औषधि बेच्ने उक्त फार्मेसीको नवीकरण नै नगरेको पाइएको विभागका प्रमुख कट्टेलले बताउनु भयो । उहाँकाअनुसार विभिन्न नवीकरण म्याद २०७६ माघमै सकिए पनि अवैध ढंगले औषधि बेच्ने काम भइरहेको पाइएको छ । फार्मेसीमा अवैध रुपमा बिक्रीका लागि राखिएका दुई कार्टन खाद्य पुरक सामग्री समेत जफत गरिएको उहाँले जानकारी दिनु भयो ।

विभागले कारबाही अघि बढाउन फार्मेसीबाट सबै कागजपत्र जफत गर्दै सञ्चालक अनिल चौधरीलाई पाँच दिनभित्रमा उपस्थित हुन निर्देशन दिएको छ । फार्मेसीका कर्मचारी नारायण दाहालले औषधि बेच्ने क्रममा केही कमजोरी भएको भने स्वीकार गर्नु भयो । त्यस्तै विराट नर्सिङ होम आसपासमा विज्ञ बिनानै औषधि बेच्ने दुईवटा फार्मेसीमाथि पनि कारबाही अघि बढाइएको विभागले जनाएको छ ।

सप्तरीका कृष्णकुमार यादवले सञ्चालन गरेको महेश मेडिकल हल र सिरहाका रवीन्द्र महतोले सञ्चालन गरेको पश्चिमवासी फार्मेसीमाथि छानबिन भइरहेको विभागका विराटनगर प्रमुख कट्टेलले बताउनु भयो । महेश मेडिकलमा अनुमति प्राप्त व्यवसायी÷फार्मेसिस्ट देवनारायण यादव र पश्चिमवासीमा राजेन्द्रप्रसाद मण्डल बसेर औषधि बेच्नु पर्नेमा अरु नै व्यक्तिले औषधि बिक्री गरिरहेको फेला परेको विभागले जनाएको छ ।

मान्यता प्राप्त विज्ञ नरहेको र औषधि बिक्रीमा अरुनै व्यक्ति प्रयोग गर्ने दुवै फार्मेसीको औषधि दर्ता प्रमाणपत्र (लाइसेन्स) नियन्त्रणमा लिएर तत्काललाई औषधि बिक्री बन्द गर्न निर्देशन दिइएको प्रमुख कट्टेलले बताउनु भयो । उहाँकाअनुसार विभागको टोलीले दुईवटा फार्मेसीको लाइसेन्स नियन्त्रणमा लिइरहँदा यी दुईवटाको बीचमा रहेको गोलबजार फार्मेसीका सञ्चालक भने सटर लगाएर पसल बन्द गर्दै फरार बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button