Tune to BFM 91.2|Biratnagar

फोटो खिच्न खोज्दा हात्तीले गर्यो आक्रमण, मोरङमा एक युवाको मृत्यु

विराटनगर, ४ असार । भारतबाट नेपाल छिरेको जङ्गली हात्तीको फोटो खिच्न खोज्दा त्यही हात्तीको आक्रमणमा परेर मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज बिहान एक जनाको मृत्यु भएको छ । सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनु भयो । राईका अनुसार बिहान ७ बजेतिर कुरेलीमा देखा परेको हात्तीलाई भेला भएका स्थानीयले लखेट्न खोजेका थिए । स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो ।

गम्भीर घाइते मनोहरको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ८ः४० बजेतिर मृत्यु भएको डीएसपी राईले बताउनु भयो । वडाध्यक्ष नुरुल मियाँका अनुसार स्थानीयको होहल्लापछि भाग्न खोजेको हात्तीले मानवीय क्षति गराएको हो । भाग्ने क्रममा रहेको हात्तीले फोटो खिच्दै गरेका मनोहरमाथि आक्रमण गरेको उहाँको भनाइ छ । वडाध्यक्ष मियाँका अनुसार हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो लिन खोजेको पाइएको छ । दौडिएर छेउमै आइपुग्दा पनि वरपर हिलो भएका कारण छलिएर भाग्ने मौका नपाउँदा हात्तीले मनोहरलाई आक्रमण गरेको हो ।

भारतमा मानवीय क्षति गरेपछि विराटनगर महानगरपालिका–१८ बुधनगरको भेडियारी हुँदै उक्त हात्ती गय राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले हिजो चार जनालाई मारेको जानकारी आएको प्रहरीको भनाइ छ । बस्तीमा छिरेर वितण्डा मच्चाउँदै मान्छे मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ । नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको डीएसपी राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button