बन्दको आंशिक प्रभाव

0
38

विराटनगर, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले आब्हान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ । शैक्षिक संस्था र यातायात क्षेत्रमा बन्दको प्रभाव परेको छ । शैक्षिक संस्थाहरुमा पठन पाठन ठप्प भए । यातायातका साधन नचल्दा यात्रुहरु मारमा परेका छन् । उद्योग कलकारखाना र बजार पसललाई बन्दले असर गरेन । पूर्वका उद्योगी व्यवसायी बन्दको विपक्षमा छन् । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जथाभावी रुपमा आयोजना गरिने बन्दका कारण उद्योग धन्दा चौपट हुने गरेको बताउनु भयो । ‘औद्योगिक र व्यापारिक क्षेत्रले बन्दको विरोध गरेको छ,’ उहाँले भन्नु भयो, ‘मजदुरले काम नछाडुनजेल औद्योगिक क्षेत्रमा बन्दको कुनै पनि प्रभाव पर्ने छैन ।’ सारडाले बन्दको उल्लंघन गरिएको रुपमा भन्दा पनि बन्द र हड्ताल राम्रो हैन भन्ने कुरा बन्दकर्ताले बुझ्नु पर्ने बताउनु भयो ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बन्दका कारण उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनु भयो । ‘ठाउँठाउँमा बन्दका नाममा अपराध हुन सक्नेतर्फ प्रहरी सचेत छ,’ उहाँले भन्नु भयो, ‘राजमार्ग, बजार क्षेत्र, सार्वजनिक स्थल, भित्री सडक खण्डहरु, शैक्षिक तथा औद्योगिक क्षेत्र लगायतका सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ केसीले बन्दका नाममा कुनै पनि अवाञ्छित गतिविधी भएमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाइने जानकारी दिनु भयो । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्यिनसिपमा आफूहरुको ध्यान केन्द्रीत भएकाले बन्दको प्रभाव नपरोस भनेर विशेष सुरक्षा व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका क्रममा प्रदेश भरीनै कुनै पनि घटनाहरु भएका छैनन् । प्रदेश प्रहरीका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार प्रदेशका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाइएका कारण कुनै पनि ठाउँमा त्यस्ता अप्रिय घटना हुन पाएका छैनन् । बन्दकर्ताको खोजीका लागि नेपाल र सशस्त्र प्रहरीको विशेष टोली परिचालित रहेको बताइएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन भने चल्न सकेका छैनन् । नेपाल यातायात मजदुर संघका सह–सचिव भुपाल केसीले बन्दका कारण यातायात क्षेत्र प्रभावित बनेको जानकारी दिनु भयो । उनले बन्दको प्रभावको अवस्था हेरेर साँझबाट सवारी साधन चलाउने या नचलाउने भन्ने कुराको निर्णय हुने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here