Tune to BFM 91.2|Biratnagar

बन्धक बनाई १० लाख फिरौती माग्ने तीन जना पक्राउ

विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिका–६ रामपुरमा एक युवालाई बन्धक बनाएर रकम फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१८ का २३ वर्षीय सुवास कामतलाई हिजो बन्धक बनाएर रकम माग्ने तीन जनालाई पक्राउ गरिएको हो ।

सुवासालाई महानगरपालिका –१६ दरैयाबस्तीका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव, र वडा नम्बर ६ की २८ वर्षीया सन्ध्या तिवारीले बन्धक बनाएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तीनै जनालाई हिजो दिउँसो साढे १ बजेतिर पक्राउ गरिएको हो । दाजुलाई बन्धक बनाएको जानकारी सुवासका भाइ विकासले प्रहरीलाई दिएका थिए ।

त्यस लगत्तै खटिएको प्रहरी टोलीले दुई घण्टाभित्रै सुवासको उद्धार गरेको हो । डीएसपी राईका अनुसार विराटनगर–६ रामपुरको एउटा घरमा बन्धक बनाएर राखेको अवस्थामा सुवासको उद्धार गरिएको हो । बन्धक बनाएर तीनै जनाले १० लाख रुपैयाँ फिरौती माग गरेको प्रहरीको भनाइ छ । प्रहरीले बन्धक बनाएको घटनामा संलग्नविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन आज म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button